नेशनल लाईफ द्वारा रम्भा–१ का ताराको परिवारलाई २१ लाख ७६ हजार दावी रकम प्रदान

पाल्पा, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले रम्भा गाउँपालिका–१ गैरी पाल्पाका तारा बहादुर वि.क.को परिवारलाई २१ लाख ७६ हजार दावी रकम भुक्तानी दिएको छ । गत कार्तिक १३ गते नवलपुरको बुलिङटारमा बस दुर्घटना हुँदा वि.क. सहित ५ जनाको निधन भएको थियो ।

३ वर्ष अघि नेशनल लाईफ इन्स्योरेन्स बाट १० लाखको वीमा पोलिसी खरिद गर्नु भएका तारा बहादुरको परिवारलाई कम्पनीले घरमै पुगेर मृत्यु दावी रकम प्रदान गरेको हो । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, रम्भा १ का वडा अध्यक्ष ईश्वर काफ्ले, नेशनल लाईफ ईन्स्योरेन्स तानसेन शाखा प्रमुख उमापति गहिरे, रामपुर शाखा प्रमुख गोविन्द प्रसाद भट्टराई, कम्पनीका सिनियर विजनेश म्यानेजर सुब्बा नेपालीले तारा बहादुरका श्रीमति मायाँ वि.क.लाई चेक हस्तान्तरण गर्नु भएको थियो ।

चेक हस्तान्तरण गर्दै रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले आर्थिक सुरक्षा तथा भविष्यमा आउन सक्ने जोखिम बहनका लागि वीमा अपरिहार्य रहेको बताउनुभयो । भण्डारीले वीमाको महत्वलाई मध्यनजर गर्दै गाउँपालिका भित्र रहेका सम्पूर्ण नागरिकहरुलाई सामुहिक वीमा कार्यक्रममा समेट्ने गरी कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । रम्भा गाउँपालिका १ का वडा अध्यक्ष ईश्वर काफ्लेले तारा बहादुर गाउँ भरीको तारा सरह रहेको र उहाँको निधनले गाउँबासीमा ठूलो क्षति पुगेको स्मरण गर्नुभयो । उहाँको अनुपस्थितिमा वीमाले केही हदसम्म राहत प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्स तानसेन शाखाका प्रमुख उमापति गैहिरेले स्वर्गीय तारा बहादुरको आत्माशान्तिको कामना गर्दै परिवारजनलाई शोकलाई शक्तिमा रुपान्तरण गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँका अनुसार तारा बहादुरले १० लाखको अमृत श्री अग्रिम भुक्तानी वीमा पोलिसी १७ वर्षका लागि ३ वर्ष अघि खरिद गर्नु भएको थियो । तीन किस्तामा कम्पनीलाई २ लाख २ हजार शुल्क बुझाउनु भएको थियो । कम्पनीले वीमाङ्क रकम १० लाख, दुर्घटना वीमा बापत १० लाख र बोनस १ लाख ७६ गरी २१ लाख ७६ हजार प्रदान गरिएको हो ।

कार्यक्रममा कम्पनीका सिनियर विजनेश म्यानेजर सुब्बा नेपालीले वीमाको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेशनल लाईफ इन्स्योरेन्स रामपुर शाखाका प्रमुख गोविन्द प्रसाद भट्टराईले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?