नगर गौशालामा बृहत साहित्य गोष्ठी तथा रचना वाचन

पाल्पा, रामपुर नगरपालिका–६, तातोपानी धाम स्थित नगर गौशालामा बृहत साहित्य गोष्ठी तथा रचना बाचन सम्पन्न भएको छ । साहित्यको माध्यम बाट गौशालाको प्रचार प्रसार प्रवद्र्धनका लागि रामपुर साहित्य प्रतिष्ठान रामपुरको आयोजना, मुक्तक मञ्च रामपुरको सहआयोजना र नगर गौशाला रामपुर तातोपानी धामको आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले साहित्य समाजको ऐना रहेको बताउँदै सकारात्मक बाटोमा हिडाउन प्रेरित गर्ने बताउनुभयो । साहित्यको उत्थानको लागि वडाले पनि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । सम्पदा प्रतिष्ठान पाल्पाका अध्यक्ष राजेन्द गोपाल सिंले समाजमा रहेका पुराना पुस्ताका कृतिलाई लिपीबद्ध गरी संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा रहेका प्रतिभाको उजागर गर्नका लागि जिल्ला स्तरिय प्रतियोगिताको आवश्यकता औल्याउनुभयो ।

पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले आफ्ना रचना बाचन सहित रामपुर साहित्य प्रतिष्ठानले चालेको कदमको प्रशंसा गर्दै विद्यागत रुपमा रचना वाचनलाई निरन्तरता दिन सके थप परिस्कृत हुने बताउनुभयो । रामपुर साहित्य प्रतिष्ठानको कदम बाट अन्य साहित्यिक संघ संस्थाले सिक्ने अवसर प्राप्त गर्ने बताउनुभयो । कार्यक्रममा नगर गौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले गौशालाको बारेमा जानकारी दिदै नगर गौशालामा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो ।

लुम्बिनी वाङ्गमय प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्णकला भण्डारी, एक हजार ८ स्वामी यदुनन्दन आचार्य सहित गण्डकी बेशी क्षेत्रका ३७ जनाले विभिन्न विधामा आफ्ना रचना बाचन गरेका थिए । रचना बाचकहरुले आध्यात्मिक विचार, समाज, प्रेम, विकास, कालीगण्डकीको संरक्षण र नगर गौशालाका विषयमा तयार पारिएका कविता, मुक्तक, गजल, निबन्ध, गितहरु प्रस्तुत गरेका थिए । रामपुर साहित्य प्रतिष्ठान रामपुरका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा भएको कार्यक्रम मुक्तक मञ्च रामपुरका उपाध्यक्ष समिर पौडेलको स्वागत बाट सुरु भएको थियो । रामपुर साहित्य प्रतिष्ठानका उपाध्यक्ष हुमा देवकोटाले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन रामपुर साहित्य प्रतिष्ठानका सचिव गोविन्द प्रसाद भट्टराईले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?