पाल्पा, नेपाल बीमा प्रधिकरणले पाल्पाको रामपुर नगरपालिका भित्रका सरोकारवालाहरु संग बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया गरेको छ । प्राधिकरणले मंगलबार रामपुरमा कार्यक्रम गरी अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख एवं नगर प्रवक्ता कपिल बहादुर खाँणले प्राधिकरणले रामपुर मै आएर बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेकोमा धन्यवाद दिदै बीमाका कार्यक्रमलाई नगरले पनि पहल गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाले नगर भित्र कार्यरत मजदुरहरुका लागि दुर्घटना बीमा, कृषकहरुको लागि पशु बीमा तथा निम्न परिवारको लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिदै आगामी दिनमा पनि प्राधिकरण संग समन्वय गरी सचेतना कार्यक्रम गर्न तयार रहेको बताउनुभयो । नगरपालिकाले आगामी नीति तथा कार्यक्रममा बीमा कार्यक्रमलाई समेतेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै प्रधिकरणलाई समयसमयमा आएर बीमा सम्बन्धी आवश्यक परामर्श दिएर सहयोग गर्न अनुरोध गर्नुभयो ।
रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेयले नगर भित्र बीमा कार्यक्रम सम्बन्धी भएका अभ्यास र प्राप्त उपलब्धीहरु बारे जानकारी दिदै कम्पनीहरुलाई ग्रहाकमुखी भएर अघि बढ्नु आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उप–निर्देशक केशव प्रसाद दहालले सम्पूर्ण जनता माझ बीमाको पहुँच पुर्याउने लक्ष्यका साथ प्राधिकरणले जनचेतनाको कार्यक्रमलाई जोड दिँदै आएको बताउनुभयो । प्राधिकरणले हाल ७ वटै प्रदेशमा कार्यालय स्थापना गरी अघि बढेको बताउँदै बीमा सचेतनाको लागि स्थानीय तहहरुको विशेष भुमिका हुने बताउनुभयो । प्राधिकरणको तर्फ बाट कार्यपत्र प्रस्तुत गर्दै उहाँले नेपालमा कार्यरत बीमा कम्पनी, बीमाको पहुँचको अवस्था, लुम्बिनी प्रदेशको अवस्था सहित बीमा सम्बन्धी जानकारी प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले कृषि बीमा, पशु बीमा, कोरोना बीमा, निर्जीवन बीमा दाबी प्रक्रिया सहज नभएको, पशुबीमाको दावी भुक्तानी नपाइएको, प्रचार प्रसारको कमीले गर्दा कृषि तथा पशुपन्छी बीमामा संघीय सरकारले तथा प्रदेश सरकारले दिएको अनुदान समेत थाहा नभएको जस्ता गुनासो गरेका थिए । सहभागीहरुको जिज्ञाशा मेटाउँदै दहालले आवश्यक प्रक्रिया पुरा गरेमा भुक्तानीमा समस्या नरहेको बताउँदै बीमा गर्दाका प्रमाणहरु सुरक्षित राख्न अनुरोध गर्नुभयो ।
होटल श्रीनगरको सभाहलमा भएको रामपुर नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका विषयगत शाखाका प्रमुख, कृषि तथा पशुपन्छी बीमाका लागि जिल्लामा तोकिएका बीमा कम्पनीका प्रतिनिधिहरु, जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, स्थानीय अगुवा कृषक, कृषि सहकारी सस्थाका प्रमुख, यातायात प्रालिका पदाधिकारी, बीमा अभिकर्ताहरु, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । नेपाल बीमा प्राधिकरणका उप–निर्देशक केशव प्रसाद दहालको अध्यक्षतामा भएको कार्यक्रम प्राधिकरणका कम्प्युटर प्रविधिक कृष्णराज अधिकारीको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गर्नु भएको हो ।