पाल्पा, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज ३ सय १ पृथ्वी जयन्ती मनाइँदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ ।
उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज विदा दिएको छ । आज पृथ्वीनारायण शाहको स्मरण गर्दै विभिन्न कार्यक्रम हुँदैछ । पृथ्वी जयन्तीको अवसरमा पाल्पाको रामपुरमा पनि शालिक अनावरण गर्न लागिएको छ । गत बर्ष रामपुर ६ विजयपुरमा शिलन्यास भएको शालिकको अाज अनावरण गर्न लागिएको हो । ठकुरी सहयोग सञ्जाल रामपुरका सचिव हुम बहादुर शाहीका अनुसार कार्यक्रम दिउँसो १ बजे हुनेछ ।
सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने वर्षेनी हुने गरेका थिए ।