पाल्पाको रामपुरमा माटो परिक्षण शिविर

पाल्पा, पाल्पाको रामपुरमा माटो परिक्षण शिविर भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई पाल्पाले माटो तथा मल परिक्षण प्रयोगशाला खजुराको प्राविधिक सहयोगमा अदुवा र बेसार जोन कार्यक्रम अन्तर्गत क्षेत्र विस्तार हुने स्थानको माटो परिक्षण गरेको हो । त्यस्तै कृषि ज्ञान केन्द्र पाल्पाले रामपुर नगरपालिका वडा नं. ३ देखि ८ सम्मको क्लष्टरको माटो परिक्षण गरेको छ ।

माटो सुधार अभियान अन्तर्गत खजुराका प्राविधिकहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निस्दी र रामपुरका १ सय १२ स्थानको माटो परिक्षण गरेको थियो भने कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिकहरुले रामपुर नगरपालिकाको ७७ स्थानको माटो परीक्षण गरेको हो । माटो परिक्षण शिविरमा बोल्दै रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख एवं नगर प्रवक्ता कपिल बहादुर खाँणले नगर समृद्धिको आधार नै कृषि क्षेत्र भएको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई पाल्पा र कृषि ज्ञान केन्द्र पाल्पाले चालेको कदमको प्रशंसा गर्नुभयो । यस्ता कार्यक्रमले कृषकहरुलाई ठूलो राहत मिल्ने बताउनुभयो । नगरपालिकाले पनि आगामी दिनमा माटोको परिक्षण र उपचार गरी कृषकहरुलाई राहत प्रदान गर्ने, मलखाद्य प्रवद्र्धनका कार्यक्रमलाई जोड दिने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले ज्ञान केन्द्रले कृषिको प्रवद्र्धनको लागि यस वर्ष माटो सुधार कार्यक्रमलाई जोड दिएको बताउनुभयो । माटोको अवस्था पहिचानका लागि जिल्लाका १० वटै पालिकामा माटो परिक्षण शिविर सञ्चालन गर्ने र सोही अनुसार माटोको उपचारका लागि कार्यक्रम गर्ने जानकारी दिनुभयो । उहाँले माटो उपचार पछि सोही अनुसार कृषिबाली लगाउन किसानलाई सिफारिस गर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई पाल्पाका निमित्त प्रमुख छकलाल आलेले परियोजना ईकाई पाल्पा अन्तर्गत क्षेत्र विस्तार गरिने स्थानका लागि रिब्दीकोट र रामपुर गरी २ स्थानमा माटो परिक्षण गरिएको जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम बाली संरक्षण अधिकृत मिलन गैरेको सञ्चालनमा भएको हो ।

बुधबार परिक्षण हुन नभ्याईएका रामपुर क्लष्टर अन्तर्गतका केही कृषकहरुको माटो परिक्षणको लागि ज्ञान केन्द्र पठाईएको रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?