पाल्पा, ३०१ औं पृथ्वी जयन्तीको अवसरमा रामपुर नगरपालिका –६ विजयपुरमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरी अनावरण गरिएको छ । ठकुरी सहयोग सञ्जाल रामपुर पाल्पाको आयोजनामा शालिक अनावरण गरिएको हो ।
स्थानिय ८४ बर्षका जेष्ठ सदस्य अमर बहादुर हमालले शालिकको अनावरण गर्नु भएको हो । कार्यक्रममा ठकुरी सहयोग सञ्जालका केन्द्रिय सदस्य अजय मल्ल, रामपुर नगरपालिका–६ का वडाअध्यक्ष दिवाकर देवकोटा, निर्वतमान वडाअध्यक्ष हुमनाथ न्यौपाने, भूपू सैनिक संघका संयोजक हेमबहादुर थापा लगायतले बोल्दै टुक्रिएर रहेका राज्यको एकिकरणमा पृथ्वीनारायण शाहले खेलेको भुमिकाको चर्चा गर्दै वितको इतिहासमा मेटिन नहने बताउनुभएको थियो । कार्यक्रमकै अवसरमा रामपुर नगरपालिका ६ को विजयपुर बजारको पूर्वको चोकको पृथ्वीचोक नामाकरण गरिएको छ ।
ठकुरी सहयोग सञ्जाल रामपुरका अध्यक्ष बोमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रम सल्लाहकार किरण मल्ल ठकुरीको स्वागतबाट शुरु भएको थियो । कार्यक्रमको सञ्चालन नविन शाहीले गर्नुभएको हो । शालिक सञ्जालको ३ लाख रुपैयाँको लागतमा स्थापना गरिएको हो । विजयपुरमा गत वर्ष शालिकको शिलन्यास गरिएको थियो । कार्यक्रमको अवसरमा दि फेमस महेन्द्र दल गण रामपुरका नेपाली सेनाको १० जनाको टोलीले सलामी अर्पण गरेको थियो ।