पाल्पा, रामपुर नगरपालिका वडा नं. ७ ले वडा भित्रका कृषकहरुको लागि तरकारीको बीउ तथा विषादी वितरण गरेको छ । लहरे तरकारी खेतीको लागि प्रवर्द्धनको लागि कार्यक्रम सञ्चालन गर्दै आएको वडाले वडाका ८ सय ७७ घरधुरीलाई टोल विकास संस्था मार्फत वीउ तथा विषादी वितरण गरेको हो ।
कार्यक्रममा कृषकहरुको लागि करेला, घिरौला र काँक्राको बीउ प्रदान गरिएको हो । वडाले एक कार्यक्रम गरी टोल विकास संस्थालाई विउ हस्तान्तरण गरेको हो । विउ वितरण गर्दै रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीले प्राप्त विउको सदुपयोग गरी तरकारीमा आत्मनिर्भर हुन तथा व्यवसायिक बन्न आग्रह गर्नुभयो । कार्यक्रममा टोल विकास संस्थाहरुको तर्फ बाट बोल्दै मनोरथ भट्टराईले टोल सबैलाई बीउ वितरण गर्ने बताउनुभयो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश वडा सदस्य खेमराज अधिकारीले प्रकाश पार्नु भएको थियो । वडाअध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागत गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्य मिठुमाया सुनारले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव गिता पौडेल लम्सालले गर्नु भएको हो ।