सुरक्षा बचत तथा ऋण सहकारीको १० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

पाल्पा, सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर–५, पाल्पाको १० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । संस्थाले विहिबार बेझाँडमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाको साधारण सभाको उट्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य विर बहादुर रानाले सहकारी लोकतन्त्रको अभ्यास भएको बताउनुभयो । उहाँले सहकारीले सबैलाई मालिक बन्ने अवसर प्रदान गरेको भन्दै यस बाट आर्थिक रुपमा सशक्त बनाउन सकिने बताउनुभयो । हरेक कुरामा राज्यको मात्र मुख ताक्ने प्रवृति बढ्दै गएकोमा सहकारीले राज्यको दायित्व निर्वाह गरेको उल्लेख गर्दै रानाले सहकारी राज्यलाई खबरदारी गर्ने र राज्यले आवश्यक नीति नियम निर्माण गर्नु पर्ने बताउनुभयो । पछिल्लो समय इमान्दारिता र नैतिकताको खडेरी परेकाले राजनिति प्रतिको वितृष्णा बढ्दो क्रममा रहे पनि राजनीति बाट कोही पर नरहेको बताउनुभयो । शेयर सदस्यहरुको विश्वासलाई कायम राख्दै अघि बढ्न अनुरोध गर्नुभयो ।

रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख एवं प्रवक्ता कपिल बहादुर खाँणले सबै संग समन्वय गरेर, नयाँ कार्यक्रम र फरक रणनीतिका साथ अघि बढ्न सके सहकारी देश कै नमुना सहकारी हुने बताउनुभयो । सहकारीको उत्थानका लागि शेयर सदस्यहरु सबैले अपनत्व ग्रहण गर्नु आवश्यक रहेको बताउँदै नगर क्षेत्र भित्रका सहकारीहरुलाई व्यवस्थित बनाउन रामपुर नगरपालिकाले सहकारी ऐन जारी गरेको जानकारी दिनुभयो । कांग्रेस पाल्पा क्षेत्र नं १ का सभापति एवं नागरिक बहुउद्देश्य सहकारीका अध्यक्ष झमन राज मगरले सहकारीलाई आफ्नो लक्ष्य अनुसार कार्य सम्पादन गर्दै अघि बढ्न शुभकामना दिनुभयो । उहाँले जुन उद्देश्यले ऋण लिएको हो सोही अनुसारको कार्य गरेमा शेयर सदस्यहरुलाई ठूलो राहत मिल्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहाकार संयोजक लेखनाथ रेग्मी छरिएर रहेका पुँजी संकलन गरि आर्थिकस्तर वृद्धिका लागि सहकारीले सहयोग गरेको बताउनुभयो । ७ लाख रुपैयाँ बाट सुरु भएको सहकारीले ६ करोड बढीको कोष पु¥याउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले शेयर सदस्य लक्ष्यित गरि कार्यक्रम गर्न आग्रह गर्नुभयो । रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सहकारीले व्यवसायिक र आत्मनिर्भर बन्न प्रेरित गरि रहेको बताउँदै अब उत्पादनमा केन्द्रित हुनु पर्ने बताउनुभया । रामपुर ६ का निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपाने सहकारीले व्यवसायी र कृषकहरुको हितमा काम गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थाको तर्फ बाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष मञ्जु भट्ट क्षेत्रीले सहकारीले महिला दिदी बहिनीहरुको लागि सीप मुलक तालिमको लागि पहल गर्ने बताउनुभयो । उहाँले वर्तमान कार्यसमितिले प्राप्त गरेको उपलब्धीको बारेमा जानकारी गराउनु भएको थियो । सहकारीले साधारण सभाको अवसरमा स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने सहकारीका शेयर सदस्य रामपुर ४ का वडा अध्यक्ष राम बहादुर राना, रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा सदस्यहरु महम्मद ताजिम शेख, मोहन सिं राना, कमला रुचाल, वडा नं. ५ का वडा सदस्य नरेन्द्र कुमार जर्घालाई सम्मान गरेको छ । त्यस्तै सहकारीले असल बचत कर्ता निलकण्ठ भण्डारी, असल ऋणी रेखा कुमाल, असल बालबचत कर्ता रबिन राना, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल विशाल आले, जेष्ठ शेयर सदस्य दुर्गा देवी शाहीलाई सम्मान गरेको छ । सहकारीले संस्थाका अध्यक्ष स्वर्गीय जित बहादुर मल्ललाई मरणोपरान्त सम्मान गरेको छ ।

नमस्ते होटल एण्ड पार्टी प्यालेसको सभाहलमा भएको कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष मञ्जु भट्ट क्षेत्रीको अध्यक्षता कार्य समिति सदस्य विष्णु प्रसाद गौतमको स्वागत बाट र सचिव राम बहादुर रानाको सञ्चालनमा भएको हो । ८ सय ७१ जना शेयर सदस्य आवद्ध रहेको सहकारी गत आर्थिक वर्षमा २१ लख ९७ हजार ५ सय ८० नाफा गर्न सफल भएको कोषाध्यक्ष शालिकराम सिग्देलले बताउनुभयो । सहकारीले गत आर्थिक वर्षमा १८ करोड बढीको कारोबार गरेको छ । सहकारीको अधिवेशन जारी रहेको छ । अधिवेशनको लागि मुकुन्द प्रसाद गौतमको अध्यक्षतामा ३ सदस्य निर्वाचन समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?