पाल्पा, लुम्बिनी प्रदेश सरकारले माघ २ गते सोमबार सार्वजनिक विदा दिएको छ । माघीलाई विशेष पर्वको रुपमा मनाइने लुम्बिनीमा आन्तरिक तथा कानून मन्त्रालयले माघ २ गते बिदा दिइएको जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । यही माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी महोत्सव मनाउन लागेको हो । माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम २०७९ लाई विशेष र व्यवस्थित बनाउन मुख्यमन्त्री लीला गिरीले सचिवहरुलाई निर्देशन दिनु भएको छ ।
माघी महोत्वसका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरुलाई उत्कृष्टताका आधारमा प्रोत्साहनस्वरुप पुरस्कृतसमेत गर्ने गरी तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । महोत्सवका लागि मूल आयोजक समिति, व्यवस्थापन समितिलगायतका समितिहरु गठन गरिएको छ । माघी उत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा २-२ वटा थारु र मगर झाँकी, १-१ वटा गुरुङ्ग र नेवार झाँकीको व्यवस्था मिलाउने, झाँकीको प्रस्तुति गर्ने टोलीलाई प्रतिटोली २० हजार रकम यातायात खर्चबापत मन्त्रालयले उपलब्ध गराउने सचिव धमलाले बताउनुभयो ।
यसैगरी लुम्बिनी प्रदेश सरकारले माघ १ गते योग दिवस मनाउने भएको छ । योग, बैकल्पिक चिकित्सालगायतको प्रवर्द्धन गर्न प्रदेशमा विभिन्न कार्यक्रम गरिने भएको छ । माघ २ गते नै भूकम्प सुरक्षा दिवससमेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिनुभयो । माघेसक्रान्तिमा संघले देशैभर विदा दिएको छ ।
बिगतका बर्षमा पनि लुम्बिनीले माघीको अबसरमा माघे सक्रान्तिको भोलिपल्ट समेत बिदा दिदै आएको छ ।प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ ।