निस्दीमा आगामी माघ १३ गते देखि राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने

पाल्पा, पाल्पाको निस्दी गाउँपालिकामा आगामी माघ १३ गते देखि राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने भएको छ । स्थानीय तह स्तरीय राष्ट्रपति राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी माघ १३, १४ र १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न बिद्यामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्गत छात्र–छात्रा भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर दौड, हाइजम्प, लङजम्पका साथै एथलेटिक्स, शटपुट लगायतका विद्याहरुलाई समावेश गरिएको सदस्य सचिब केश बहादुर सुनारीले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले निस्दी गाउँपालिकाको खेल मैदान झ्याल्टुङ्गमा हुने प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जस अनुसार भलिबल तर्फ उमेश कुमार गाहा, एथलेटिक्स तर्फ पशुपति रेग्मी, मैदान व्यवस्थापन तर्फ रन बहादुर गाहा र अतिथि सत्कार तर्फ खेमौती आलेको संयोजकत्वमा उपसमिति गठन गरिएको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो । निस्दी गाउँपालिकाले आगामी योजना तथा कार्यक्रममा समेत युवाहरुको आवश्यकता र पहिचानको लागि जोड दिइने गाउँपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?