औद्योगिक ग्राम निर्माण सम्बन्धी अन्तरक्रिया किसानबारीमा सम्पन्न

पाल्पा, औद्योगिकग्राम निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिका वडा नं ७ किसानबारीमा सम्पन्न भएको छ । विरेन्द्रटार औद्योगिक ग्राम निर्माणका लागि प्रक्रिया अगाडी बढाउने सम्बन्धमा छलफल भएको हो ।

कार्यक्रममा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले २० लाख भन्दा माथिका योजना टेण्डर प्रक्रिया मार्फत गरिने भएकाले औद्योगिक ग्रामको काम पनि टेण्डर आह्वान गरेर अब सुरु गरिने बताउनुभयो । नगरपालिकाले ग्राम संचालनका लागि उद्योगी, व्यावसायीलाई जग्गा भाडामा दिने र उद्योग संचालनका लागि संरचना बनाउने काम स्वयम् उद्योगी, व्यावसायीले नै गर्नुपर्ने बताउनुहुदै थापाले नगरपालिकाको मातहतमा ग्राम संचालन गरिने जानकारी दिनुभयो । वैदेशिक रोजगारीबाट फर्केका, ३० वर्ष भित्रका युवायुवतीलाई रोजगारी दिलाउने, प्राथमिकता साथ स्थानीय उत्पादन, साना साना खालका उद्योग स्थापना गर्ने नगर प्रमुख थापाले बताउनुभयो । औद्योगिक ग्राम संचालनका लागि रामपुरको विरेन्द्रटारमा करिव ४२ रोपनी जग्गा छुट्टाइएको छ । सो जग्गाको चारैतिरको क्षेत्रमा बारबन्देज, प्रवेशद्धार, प्रशासनिक भवन, शौचालय निर्माण लगायतका कामहरु गर्ने सर्वसहमत रुपमा पारित भएको छ ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले औद्योगिक ग्राम निर्माण गर्न लागि २६ करोड ११ लाख बराबरको डिपीआर तयार भएको र हरेक वर्ष संरचना बनाउँदै जाने बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ देखि सुरु भएको औद्योगिक ग्राम त्यस समयमा वजेट प्राप्त भएपनि के काम गर्ने नगर्ने अलमल जस्तै अवस्था रहेको र डिपिआर रिपोर्ट तयार पारिएपछि कार्यविधि तयार भएर स्थानीय स्रोत साधनबाट स्थानीय कच्चा पदार्थबाट बन्ने उद्योगहरु, साना, घरेलु र लघु यी तीनवटा उद्योगलाई पहिलो प्राथमिकता दिने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले उल्लेख गर्नुभयो ।

रामपुर नगरपालिकाका इन्जिनियर कृष्ण थापाले औद्योगिक ग्राम निर्माणका लागि अहिलेसम्म भएका कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा मन्त्रालयबाट प्राप्त भएको ८० लाख वजेटमध्ये सो आर्थिक वर्षको चैतमा सम्झौता गरी कामको प्रक्रिया सुरु भएको जानकारी गराउनुहुदै इन्जिनियर थापाले ६७ लाखको काम भएको बताउनुभयो । उहाँका अनुसार ८० लाखमध्ये ६७ लाख रकमबाट औद्योगिक ग्राम क्षेत्रमा पर्ने खोलाको किनार छुट्टाउने, ग्रामको दक्षिणतिरको भागमा करिव ५० मिटर पक्की पर्खाल लगाउने, बाटोको पहुँचमार्ग, पार्किङस्थल सम्याउने लगायतका काम भएको छ ।

यस आर्थिक वर्षमा मन्त्रालयबाट विनियोजित ८० लाख बजेट र आ.ब. ०७६/०७७ मा बाँकी रहेको १३ लाख रकम गरी ९३ लाख बराबरको रकमबाट औद्योगिक ग्राम निर्माणको काम सुरु गरिने वडाध्यक्ष दोवराज तिवारीले जानकारी दिनुभएको छ ।कार्यक्रममा रामपुर ७ का निवर्तमान वडाध्यक्ष तीर्थप्रसाद पंगेनी, अन्तराष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटि अध्यक्ष यमबहादुर सुनार, नेपाली कांग्रेस रामपुर नगर सचिव चिरन्जीवी सिग्देल, वडा नं ७ का वडा सभापति दुर्गाप्रसाद भट्टराई, रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, समाजसेवी बुद्धिराज गौतम, सुकदेव पोखरेल, नेपाल पत्रकार महासंघ पाल्पाका कार्यसमिति सदस्य दुर्गेश मल्ल, वडावासी मित्रलाल गौतम, विजय अर्याल, मिलनटोल विकास संस्थाका अध्यक्ष सुभाष थापा लगायतले औद्योगिक ग्राम निर्माणका सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।

किसानवारी योग हलमा भएको कार्यक्रम वडाध्यक्ष दोवराज तिवारीको अध्यक्षता, वडा सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागतबाट सुरु भएको थियो । कार्यक्रमको संचालन वडा सचिव गिता लम्साल पौडेलले गर्नुभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?