अन्धकारमुक्ति साकोसका पदाधिकारी र सिक्कीमका मुख्यमन्त्री विच भेटघाट

पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाका सञ्चालक समितिका पदाधिकारीहरुले भारतको सिक्कीम प्रदेशका मुख्यमन्त्री प्रेम सिंह तमाङ गोले संग भेटघाट संगै अन्तरक्रिया गरेको छ । अध्ययन अवलोकन भ्रमणको क्रममा भारतको सिक्किम पुगेको टोलीले मुख्यमन्त्री संग सोमबार भेटघाट गरेको हो ।

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष खगेन्द्र न्यौपानेको नेतृत्वमा गएको १९ सदस्य टोली संगको भेटघाटको क्रममा मुख्य मन्त्री गोलेले नेपाल र सिक्कीम विच भावनात्मक र रगतको सम्बन्ध रहेको बताउनु भएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव ओम प्रकाश बस्यालले जानकारी दिनुभयो । उहाँले सिक्कीममा समुदायस्तर तथा सहकार्यको माध्यम बाट पर्यटन विकासमा भएका कार्य संगै सिक्कीमको बारे जानकारी गराउनु भएको थियो ।

भेटघाट पश्चात अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष खगेन्द्र न्यौपाने, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले मुख्य मन्त्री गोलेलाई पाल्पाली ढाकाको दोसला, पाल्पा ढाका टोपी ओढाएर पाल्पाली करुवा मायाँको चिनो प्रदान गर्नु भएको थियो । भ्रमणमा सहभागीहरुलाई मुख्यमन्त्री गोलेले सिक्कीमको तस्वीर सहित सिक्किममा उत्पादन भएको चिया उपहार प्रदान गर्नु भएको थियो । भ्रमण टोलीले सिक्कीम दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, सिक्कीममा सञ्चालनमा रहेका सहकारी, समुदायस्तर बाट सञ्चालन भएका विभिन्न उद्योगहरुको अवलोकन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?