निस्दीमा एकिकृत घुम्ती सेवा सम्पन्न, वडा बाटै सेवा प्राप्त पछि स्थानीयलाई राहत

धनबहादुर ठाडा

पाल्पा, जिल्लाको निस्दी गाउँपालिकाको एकिकृत घुम्ती सेवा सम्पन्न भएको छ । ‘जहाँ नागरिक, त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकिकृत घुम्ती सेवामार्फत वडावडा मै पुगेर नागरिकलाई सेवा दिएको हो ।

गाउँपालिका कार्यालयको सेवालाई सरल र सहज ढंग बाट प्रवाह गर्न तथा जनताका समस्यालाई सोही ठाउँबाट समाधान गर्न माघ ११ गते वडा नं. १ को बाकामलाङ बाट सुरु भएको घम्ती सेवा १७ गते मंगलबार सम्पन्न भएको हो । शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, योजना सम्बन्धित अभिमुखिकरण, गरिब घरपरिवार परिचय पत्र वितरण, अपाङ्गताको परिचय पत्र वितरण, व्यवसाय दर्ता तथा नविकरण, औषधी वितरण, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान, स्वास्थ्य परामर्श लगायतका सेवा प्रदान गरिएको थियो ।

घुम्ती सेवाबाट यहाँका नागरिकले ठुलो राहतको महसुस गरेका छन । पालिकाबाट हुने सेवाहरु लिन केन्द्रसम्म पुग्न समय लाग्ने र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । गाउँपालिकाको कार्यालय बाट प्रवाह गरिने सेवाका लागि पालिका कार्यालय नै आउनुपर्ने बाध्यताको अन्त्य गर्नुका साथै नागरिक सेवालाई सहज बनाउन अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले बताउनुभयो ।

गाउँपालिकाको कार्यालयबाट खटिएर गएका कर्मचारीहरु मार्फत ७ वटै वडामा पुगेर पालिकाको कार्यालय बाट प्रदान हुने सेवा शिविरबाटै उपलब्ध गराएको दयालले जानकारी दिनुभयो । गाडीमा यात्रा गरेर गाउँपालिकाको केन्द्रमा आउन नागरिकलाई सास्ती हुने भएकाले जनतालाई सहज होस भनेर शिविर सञ्चालन गरिएको उहाँको भनाई छ ।

घुम्ती सेवाबाट ७९ वटा योजनाको सम्झौता हुनुका साथै ८ वटा योजनाको फरफारक भएको योजना अधिकृत अर्जुन खनालले बताउनुभयो । शिविरमा ३ सय १६ परिवारलाई गरिब घर परिवार परिचयपत्र वितरण, ४६ जनालाई अपाङ्गता परिचयपत्र वितरण र ४७ वटा व्यवसाय दर्ता तथा नवीकरण भएको छ । खनालका अनुसार ७५ वर्ष माथिका ४ सय ९५ जना जेष्ठ नागरिकलाई सम्मान, २ सय ९ जनालाई आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य परिक्षण, २ हजार २ सय ६० वटा पशुलाई औषधि वितरण गरिएको छ । शिविरमा आयोजना सञ्चालन सम्बन्धि अभिमुखिकरण, माटो परिक्षण नमुना संकलन अभिमुखिकरण, पञ्जीकरण, मालपोट संकलन लगायत विभिन्न सिफारिस समेत भएको थियोे । शिविरमा ३० लाख पेश्की रकम भुक्तानी गरेको लेखा अधिकृत सरोज काफ्लेले जानकारी दिनुभयो ।

शिविरमा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुुव दयाल सहित विभिन्न विषयगत शाखाका प्रमुखहरु सेवा प्रवाहमा खटिएका थिए । घुम्ती सेवा वडा नं. ४ मित्याल बाहेक अन्य वडाहरुको वडा कार्यालयमा र मित्यालको लामेदमारमा सञ्चालन गरिएको थियो ।

तस्वीरहरु निस्दी गाउँपालिकाको फेसबुक पेज मार्फत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?