रामपुर नगर गौशाला फागुन ९ देखि १५ गते सम्म श्रीमद् भागवत कथा प्रवचन हुने

पाल्पा, रामपुर नगर गौशालामा यहि फागुन ९ देखि १५ गते सम्म ‘श्रीमद् भागवत कथा प्रवचन–२०७९’ हुने भएको छ । छाडा गाईहरुको व्यवस्थापन संगै संरक्षणका लागि स्थापना भएको गौशालाको दिगो सञ्चालन तथा प्रचार प्रसारका लागि रामपुर नगरपालिका ६ तातोपानी धाममा सप्ताह सञ्चालन गर्न लागेको हो ।

नगर गौशाला समितिले शुक्रबार पत्रकार सम्मेलन गरी ‘श्रीमद् भागवत कथा प्रवचन–२०७९’ को बारेमा जानकारी गराएको हो । ‘श्रीमद् भागवत कथा प्रवचन–२०७९’ को बारेमा जानकारी गराउँदै नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले गौशालाको दिगोपनका लागि सप्ताह व्यापी प्रवचन गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक स्रोत जुटाउने मात्र हाम्रो लक्ष्य होईन । सर्वसाधारण तथा भक्तजनहरुलाई गौशाला सम्म पुग्ने वातावरण बनाउनका लागि तेस्रो वार्षिक उत्सवको अवसरमा प्रवचन कार्यक्रम गर्न लागिएको हो ।” न्यौपानेले थप्नुभयो, “गौशालाको दिगो सञ्चालनका लागि सबैमा साथ, सहयोग र शुभेच्छाका लागि उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गर्दैछौं ।”

७ दिन सम्म सञ्चालन हुने प्रवचनमा पछिल्लो समय चर्चामा रहनु भएका प्रखर वाचिका भागवत मन्जरी पुज्य श्री राधिका दासी ज्यूको मुखार विन्द बाट कथा बाचन हुनेछ । महायज्ञहरुमा जसरी यस पटक दानको लागि रकम नतोकिएको र स्वइच्छाले दान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । “प्रवचनमा विगतमा जस्तो दान तोकेर हुने छैन । स्वइच्छाले गर्नसक्नु हुनेछ । दान बाट संकलन भएको रकम मध्ये खर्च कटाएर बचेको रकमको ७५ प्रतिशत अक्षयकोष स्थापनाका लागि र २५ प्रतिशत गौशालाको दैनिक खर्चमा प्रयोग गरिने छ ।”

गौशाला सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न लागिएको जानकारी दिनुभयो । कथा प्रवचनको लागि अहिले तयारीका कामहरु भैरहेको बताउँदै गठन भएको १ सय १ सदस्य मूल आयोजक समिति र १५ वटा उपसमितिले आफ्नो कार्यलाई अघि बढाएको बताउनुभयो । ९ गते विहान बुद्धपार्क बाट कलश यात्रा सहित दिउँसो १ बजे प्रवचन शुभारम्भ हुनेछ । कथा प्रवचन अवधिभर विहान ७ बजे देखि १० बजे सम्म पाठपारायण, दिउँसो १ देखि ४ बजे सम्म प्रवचन र साँझ साढे ७ देखि १० सम्म भजनकृत हुने जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्लले गौशालाले गाईको संरक्षण संगै धार्मिक पर्यटनमा ठूलो योगदान दिएको बताउनुभयो । गौशालाको दिगोपनका लागि सरोकारवाला सबैले ध्यान दिनु पर्ने बताउनुभयो । नगर गौशाला समितिका सचिव बासुदेव ढकालले रामपुरमा सञ्चालन भएको गौशाला गण्डकी वेशी क्षेत्र कै व्यवस्थित गौशाला भएको दावी गर्नुभयो । कार्यक्रमको सञ्चलन सचिव ढकालले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?