निस्दीमा पालिका स्तरीय बाल भेला तथा प्रथम अधिवेशन सम्पन्न, जेनिसा सोतीको अध्यक्षतामा बालमञ्च गठन

धन बहादुर ठाडा

पाल्पा, पाल्पाको निस्दी गाउँपालिकामा पालिका स्तरीय बाल भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । विहिबार देखि सुरु भएको बाल भेला जेनिसा सोतीको अध्यक्षतामा बाल मञ्च गठन गरी आज (शुक्रबार) सकिएको हो ।

बन्दसत्रले सोतीको अध्यक्षतामा ११ सदस्यीय बाल मञ्च गठन गरेको छ । जसको उपाध्यक्षमा निलम ढकाल, सचिवमा नबिन बयम्बु, सहसचिवमा मनिषा जर्घा र कोषाध्यक्षमा निरुता फाललाई चयन गरेको छ । नवगठित बाल मञ्चको सदस्यहरुमा हिमेश मश्राङ्गी, शान्ति राई, विष्णु नेपाली, रोशन नेपाली, नबिन्द्र सुनारी र निशा सारु रहनु भएको छ ।

बाल भेलाको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले बालबालिकाहरुको अधिकार संरक्षणमा अभिभावकहरुको भूमिका महत्त्वपूर्ण रहने भएकोले बालमैत्री वातावरणको सिर्जना घरपरिवार बाट शुरु गर्नुपर्ने बताउनु भएको थियो । उहाँले राज्यका तीनै तहको सरकार बाट उपयुक्त योजना तथा कार्यक्रम मार्फत बालबालिकालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बालमैत्री पालिका रम्भाको अनुभव बताउँदै यस कार्यक्रम सफल तथा निकै प्रभावकारी रहेको बताउनुभयो । बालमैत्री स्थानीय शासन लागु हुँदै गर्दा पूर्वाधार निर्माण संगै शिक्षा, स्वास्थ्य लगाएत समाज रुपान्तरणका कार्यहरु पनि क्रमश अघि बढ्ने बताउनुभयो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले हाल निस्दीमा बाल विवाह मुख्य समस्या र चुनौतीको विषय रहेको बताउँदै यसको अन्त्यका लागि पालिकाले प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरु ल्याउने बताउनुभयो । उहाँले सम्पुर्ण सरोकारवालाको साथ र सहयोग रहनेमा आफु विश्वासत रहेको बताउनुभयो ।

भेलामा निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल, गाउँपालिका प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष मेख बहादुर सुनारी, स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशा, शिक्षा शाखा प्रमुख नरबहादुर थापा, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले बोल्नुहुँदै बालबालिकाहरुले अधिकारको आवाज उठाउदै गर्दा आफ्नो कर्तव्य भुल्न नहुने बताएका थिए ।

भेलामा विभिन्न राजनैतिक दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार तथा ७ वटै वडाका बालबालिकाहरुको उपस्थिति रहेको थियो । भेलाको सञ्चालन बालकल्याण अधिकारी कुश्माखर पाण्डेले गर्नु भएको हो । निस्दी गाउँपालिकाले आगामी ३ वर्षभित्र बालमैत्री स्थानीय शासन लागु भएको पालिका घोषणा गर्ने तयारी गरेको छ । जसका लागि पालिकाले गतिविधि सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?