पाल्पाको बगनासकालीमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पाल्पा, पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । तानसेन-दर्लमडाँडा भित्रि पक्की सडक अन्तर्गत बगनासकाली ९ गुनठाँटीमा शनिबार विहान सवा ९ बजे ट्याक्टरले ठक्कर दिएको थियो ।

तानसेन बाट झिरुभञ्ज्याङ्ग तर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशा गैरहेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तानसेन नगरपालिका-१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो ।

उनीहरु दुवैजना गम्भीर घाईते भएका थिए । घाइते दुवैलाई जिल्ला अस्पताल पाल्पा पठाइएकोमा चिकित्सकले साढे १० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

घटना पछि प्रहरीले रोराङ गाउँपालिका-९, धादिङ घर भएका ३३ वर्षीय ट्याक्टर चालक हरिलाल चेपाङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?