पाल्पा, आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पाको २४ औं वार्षिकउत्सव सम्पन्न भएको छ । रामपुर क्षेत्रमा बसोबास गर्दै आएका भूत पूर्व भारतिय सेनाहरुको साझा संस्थाको रुपमा रहेको आदर्श भू.पू सैनिक संस्थाले आज वार्षिक उत्सव मनाएको हो ।
रेशम सभाहल रामपुर नगरपालिका–५ कान्जीहाउसमा भएको वार्षिक उत्सव समारोहको उट्घाटन गर्दै जिल्ला सैनिक बोर्ड पाल्पाका सेक्रेटरी क्याप्टेन बल बहादुर सारुले आदर्श भूपू सैनिक संस्था जिल्ला कै उत्कृष्ट भूपू सैनिक संस्था रहेको बताउनुभयो । भूतपूर्व सैनिकहरुको सहजताको लागि संस्थाले चालेको कदमको प्रशंसा गर्दै रामपुर नगरपालिका सहित जिल्लाको पूर्वी क्षेत्रका भूपू सैनिकहरुको पेन्सन नविकरणको लागि आगामी वर्ष पनि रामपुर बाटै नविकरण गर्ने व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । पूर्व सैनिकहरुको सम्मानमा जिल्ला सैनिक बोर्ड सहज ढंग बाट सेवा प्रदान गर्न सक्रिय रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका प्रधान संरक्षक क्याप्टेन धन बहादुर राना, संस्थाका सल्लाहाकार संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, भूपू सैनिक राईजिङ्ग ईङ्गलिश सेकेण्डरी स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठ, विद्यालयका प्रिन्सिपल गोपी सिग्देल, भूपू सैनिक राईजिङ्ग ईङ्गलिश सेकेण्डरी स्कुलका भवन निर्माण समितिका संयोजक क्याप्टेन हिमाल मल्ल, शेयर सञ्चालक समितिका अध्यक्ष क्याप्टेन ओमनारायण श्रेष्ठ, सल्लाहाकार सदस्यहरु क्याप्टेन धन बहादुर श्रेष्ठ, क्याप्टेन बल बहादुर जिसी, हवल्दार विनोद श्रेष्ठ, हवल्दार राम बहादुर हिस्की, सल्लाहाकार सदस्य नायक भोज बहादुर राना, सीता प्रधान, संस्थाका पूर्व सचिव नायक थर्क बहादुर राना, शेयर सञ्चालक समितिका सचिव हवल्दार राजु श्रेष्ठ, संस्थाका कार्यसमिति सदस्य सुवेदार गणेश बहादुर क्षेत्री र संस्थाका सदस्य हवल्दार मन बहादुर रानाले शुभकामना मन्तव्य राख्नु भएकोथियो ।
संस्थाका सचिव अनेरी नायव सुवेदार पूर्ण बहादुर रानाले संस्थाको १४ लाख ९८ हजार १ सय ४९ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिक उत्सवको अवसरमा संस्थाले संस्थाका जेष्ठ सदस्य नायक लिल बहादुर थापा, कुमारी थापा, वीर नारी रामकली विरकट्टा, सुकमायाँ मगरलाई दोसला ओढाई सम्मान गरिएको थियो । संस्थाले लामो समय संस्थाको अध्यक्ष भई काम गर्नु भएका सुवेदार राजकुमार श्रेष्ठ र सुवेदार टेक बहादुर रानालाई पनि सम्मान गरेको थियो । संस्थाका अध्यक्ष हवल्दार पूर्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष सरस्वती डोटेलको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव अनेरी नायव सुवेदार पूर्ण बहादुर थापाले गर्नु भएको हो ।