रामपुर अस्पतालमा एपेन्डिसाइटिस र हर्नियाको सफल शल्यक्रिया

पाल्पा, शल्यक्रियाबाट प्रसुती सेवा दिदै आएको पाल्पाको रामपुर अस्पतालले एपेन्डिसाइटिस र हर्नियाको शल्यक्रिया सुरु गरेको छ । २०७२ सालमा ५० शैयामा स्तरोन्नति भएको अस्पतालले २०७७ चैत्र मसान्त देखि सीएस सेवा प्रदान गर्दै आएको थियो ।

२४ सै घण्टा आकास्मिक सेवा र दैनिक ओपिडी सेवा दिदै आएको अस्पतालमा मंगलबार एपेन्डिसाइटिस विरामीको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । रामपुर ५ कोइलाटारी बस्ने २१ वर्षिय सरला रेग्मी अधिकारीको सफलता पूर्वक शल्यक्रिया गरिएको हो । अधिकारीको रामपुर अस्पतालमा कार्यरत एमडीजीपी डाक्टर सुनिल कुमार दासको नेतृत्वमा रहेको चिकित्सकहरु मार्फत सफल शल्यक्रिया गरिएको हो । टोलीमा एमविविएस डाक्टर कृति मिश्र, एनएसथेसिया असिस्टेन महेश जोसी, नर्सिङ्ग अधिकृत सुनिता गौतम, स्टाफ नर्स प्रतिभा थापा, मनिष सुवेदी, कार्यालय सहयोगी नारायणी भुजेल भवेश्वर पाण्डे रहनु भएको थियो । चिकित्सकहरुको टोलीले १० दिन अघि हर्नियाको पनि सफल शल्यक्रिया गर्न सफल भएको थियो ।

रामपुर मै पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गर्न सफल चिकित्सकहरुको टोलीलाई रामपुर अस्पतालले बधाई सहित सम्मान गरेको थियो । रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाल रमेशले बधाई ज्ञापन गर्दै सबैको साथ र सहयोगले अस्पतालमा एक पछि अर्को सफलता प्राप्त हुँदै गएको बताउनुभयो । उहाँले उच्च मनोबलका साथ ढुक्क भएर सेवामा लाग्न अनुरोध गर्नुभयो । प्राथमिक उपचार केन्द्रको भवन मै सञ्चालन हुँदै आएको सेवा मध्ये ओपीडी सेवा नयाँ भवनमा सुरु गरिएको र भवन सम्पन्नको क्रममा रहेकाले त्यस पश्चात आवश्यक पूर्वाधार थप गर्दै जाने जानकारी दिनुभयो । रामपुर अस्पतालको नयाँ भवनलाई ट्रमा सेन्टरको अवधारणा अनुसार अघि बढाउने र छिट्टै ३ वटा विशेषज्ञ सहितको सेवा सुचारुको लागि पहल भैरहेको बताउनुभयो ।

रामपुर नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष हिमाल मल्लले रामपुर मै एपेन्डिसाइटिस र हर्नियाको सफल शल्यक्रिया हुनु खुशीको कुरा भएको भन्दै सेवाग्रहीको विश्वासलाई जित्दै अघि बढ्न आग्रह गर्नुभयो । चिकित्सकहरुलाई भगवानको संज्ञा दिदै उहाँले विश्वास राखेर अघि बढ्यो भने सफलता हात लाग्ने बताउनुभयो । सबैको सकारात्मक साथ र सहयोगको जरुरी रहने बताउनुभयो । रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले एपेन्डिसाइटिस र हर्नियाको सफल शल्यक्रिया हुनु अस्पतालको लागि ठूलो उपलब्धी भएको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा २०७७/०७८ मा १५ वटा, २०७८/७९ मा १६ र २०७९/०८० मा १२ जनालाई सफलता पूर्वक शल्यक्रियाबाट प्रसुती सेवा प्रदान गरिएकोमा हाल मात्रै १ जनाको एपेन्डिसाइटिस र १ जनाको हर्नियाको शल्यक्रियामा सफल भएको हो ।

शल्यक्रियाको नेतृत्व गर्नु भएका एमडिजिपि डाक्टर सुनिल कुमार दासले विरामीहरुले आफुहरु प्रति गरेको विश्वास बाट नै सफल भएको बताउनुभयो । विरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उहाँले जानकारी दिनुभयो । बधाई तथा सम्मान कार्यक्रम रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाल रमेशको अध्यक्षता अस्पतालका सूचना अधिकारी पंकज प्रसाद पटेलको स्वागत र प्रशासन सहायक हिरा वि.क.को सञ्चालनमा भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?