रामपुर अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एक द्वार संकट व्यवस्थापन केन्द्र स्थापना

पाल्पा, रामपुर अस्पतालमा अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एक द्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित नयाँ भवनमा विहिबार केन्द्र स्थापना गरिएको हो ।

लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले हिंसा पीडित वा प्रभावितको पहिचान, प्राथमिक तथा चिकित्सकीय उपचार, मनोसामाजिक परामर्श, सुरक्षा, कानूनी सहायता, सुरक्षित आवास गृह वा पुर्नस्थापनामा बस्ने सुविधालगायत अत्यावश्यक सेवाहरू एकद्वार बाट उपलब्ध गराउने छ । ओसीएमसीबाट प्रदान हुने सबै सेवा निःशुल्क हुन्छ । केन्द्रको लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उट्घाटन गर्नु भएको हो । केन्द्रको उट्घाटन गर्दै श्रेष्ठले हिंसा न्यूनिकरणमा सरोकारवालाहरुले जोड दिनु पर्ने बताउनुभयो । केन्द्र स्थापना संगै व्यवस्थापनमा जोड दिन आग्रह गर्नुभयो । रामपुर अस्पताल यस भेग कै नेतृत्व गर्ने अस्पतालको रुपमा विकास गर्न, ट्रमा सेन्टरको रुपमा अघि बढाउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबै पालिकाहरुमा १५ शैयाको अस्पताल निर्माण भैरहेको छ । ति अस्पतालहरुको नेतृत्व रामपुर अस्पतालले गर्नु पर्छ ।’ श्रेष्ठले समाज विकासका लागि शिक्षा र स्वस्थ्य अपरिहार्य रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सके सम्म हिंसा हुनै नदिने र यदि भैहालेमा पिडितलाई न्यायका लागि याहाँ सम्म आउने वातावरण तयार गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा हिंसा नियन्त्रणका लागि सबैले प्रण गरेर लाग्नु आवश्यक रहेको र यस कार्यमा जनप्रतिनिधीहरुको ठूलो भूमिका हुने बताउनुभयो । पिडितहरुको लागि सुरक्षित आवासको व्यवस्थाका लागि पालिकाहरु संग समन्वय भैरहेको जानकारी दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिकका उपप्रमुख बालकुमारी थापाले लैङ्गिक हिंसा न्यूनिकरणका लागि पालिकाले सचेतनाको लागि पहल गर्दै आएको र हिंसा भैहालेमा पिडितहरुको व्यवस्थापनको लागि हिंसा निवारण कोष स्थापना गरिएको जानकारी दिनुभयो । केन्द्रको व्यवस्थापनका लागि सहयोग गर्न रामपुर नगरपालिका सदा तयार रहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पिडितलाई थप पीडा नहोस् भन्ने लक्ष्यका साथ केन्द्र स्थापना गरिएको बताउनुभयो । (ओसीएमसी) को अवधारण, कार्यविधीको बारेमा प्रकाश पार्दै हिंसामा परेका नागरिकहरुलाई याहाँ सम्म ल्याउन सबैको साथ आवश्यक रहने बताउनुभयो । उहाँले स्थापना मात्र नभै व्यवस्थापन निकै संवेदनशील रहेकाले त्यस तर्फ सतर्क रहन अनुरोध गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरी, रामपुर नगरपालिका दुर्गा प्रसाद पोखरेल, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष यम बहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर नगर सभापति अर्जुन श्रेष्ठ, नेकपा एकीकृत समाजवादी रामपुर नगर कमिटी अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुरका रामप्रसाद गैह्रे, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, सदस्य दुर्गेश मल्लले ओसीएमसी स्थापन हुनु खुशीको कुरा रहेको भन्दै निष्पक्ष ढंग बाट अनुसन्धान र सेवा प्रवाहमा सहयोग गर्नु सबैको दायित्व रहेको बताएका थिए ।

रामपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद ढकाल रमेशले रामपुर अस्पताल विशेषज्ञ सहितको सेवा सञ्चालनका लागि लागि परेको बताउनुभयो । अस्पतालले विगतमा सुरु भएका कार्यलाई निरन्तरता दिदै थप सेवा प्रदान गर्दै अघि बढेको बताउनुभयो । अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले अस्पतालले प्राप्त गरेका उपलब्धिको बारेमा जानकारी दिदै ओसीएमसी बाट लैंगिक हिंसाबाट पीडित महिला तथा बालबालिकाहरुको उपचार, मनोपरामर्श, कानुनी उपचार प्रदान गर्ने बताउनुभयो । रामपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रम नर्सिङ्ग अधिकृत सुनिता गौतमको स्वागत र प्रशासन सहायक हिरा विकको सञ्चालनमा भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?