पाल्पा, शुक्रबार देखि रामपुरमा हुन गैरहेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी सकिएको छ । आयोजक रामपुर उद्योग वाणिज्य संघले माघ २७ देखि फागुन ८ सम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको जनाएको छ ।
विहिबार मेला स्थल रामतुलसी नमुना माध्यमिक विद्यालयको खेल मैदानमा पत्रकार सम्मेलन मार्फत तयारी सकिएको जानकारी दिएको हो । मेलाको विषयमा जानकारी दिदै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले तयारीको काम सकिएको जानकारी दिनुभयो । ढकालले भन्नुभयो, “स्टलहरु, स्टेज, सचिवालय, प्रवेश द्वार, घेराबर निर्माण सकिएको छ । स्टल बुकिङ्ग गरेर अधिकांश व्यवसायीहरु आई सक्नु भएको छ ।”
संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा हुन गैरहेको मेला संघको भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको अध्यक्ष ढकालले बताउनुभयो । ढकालले मेलालाई रामपुर उद्योग वाणिज्य संघको मात्र मेला नभै गण्डकी वेशी क्षेत्र कै उत्सवको रुपमा लिएर सहभागी हुन अनुरोध गर्नुभयो । कालीगण्डकी करिडोर संगै सडक यातायातको सहजताले यस पटक ३ लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने संघले लक्ष्य लिएको छ । “कालीगण्डकी करिडोर निर्माण संगै सडक सञ्जालले यातायातमा सहजता ल्याएको छ । त्यसैले पनि ३ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिएका छौं ।” ढकालले भन्नुभयो ।
पत्रकारहरुको जिज्ञासा मेटाउँदै ढकालले विगतको मेलाहरु बाट पाठ सिक्दै मेलालाई थप व्यवस्थित बनाउन लागि परेको बताउनुभयो । साथै उहाँले यस पटक कृषि क्षेत्र र हस्तकलाका सामाग्रीलाई विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले मेलाका लागि तयार पारिएका ३ सय बढी स्टल मध्ये सबै बुकिङ्ग भैसकेको र २२ वटा होटल तथा रेष्टुरेण्टको स्टल पनि विक्री भैसकेको बताउनुभयो । ढकालले भन्नुभयो, “हामीले तयार पारेका ३ सय बढी स्टलहरु सबै बुकिङ्ग भैसकेको छ । विगतको तुलनमा यस पटक स्थानीय व्यवसायीहरुको राम्रो उपस्थिति रहेको छ । यस पटक कृषि प्रदर्शनी, कृषि उत्पादन विक्री, घरेलु तथा कुटिर उद्योगका सामग्री, हस्तकलाका सामाग्रीहरुलाई विशेष प्राथमिकता दिएका छौं ।”
मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री, बाल उद्यान, हेलिकप्टर/प्याराग्लाइडिङ्ग बाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), तेस्रो रामपुर डान्स आइडल र लोकदोहोरी प्रतियोगिता, दैनिक ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, स्थानीय स्तरका मौलिक र स्वदिष्ट खानाका परिकारहरु, लोक संस्कृतिको जगेर्नाको लागि विभिन्न जातजातिका झाँकी प्रदर्शन, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहने छ । संघले कृषि प्रदर्शनी संगै पशुपालक कृषकहरुलाई
प्रोत्साहनका लागि पुरस्कृत गर्ने तयारी गरेको छ । साथै मिनी चिडियाखानाको लागि पनि पहल भैरहेको संघले जनाएको छ । प्रचार प्रसार समितिका संयोजक बासुदेव ढकालको अध्यक्षतमा भएको पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघका उपाध्यक्ष सिर्जना घिमिरेको स्वागत र प्रचार प्रसार उपसमितिका उपसंयोजक दुर्गेश मल्लको सञ्चालनमा भएको हो ।
महोत्सव पूर्व सन्ध्यामा रामपुरको मुख्य बजार बेझाँड बजार परिसर बेहुली झै सिगारिएको छ । महोत्सवको भोली ११ बजे सांस्कृतिक झाँकी सहितको ¥यालीका साथ समुद्घाटन हुनेछ । मेलाको पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।