पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला–२०७९ शुक्रबार देखि रामपुरमा सुरु भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा रामतुलसी नमुना माविको खेल मैदानमा मेला सुरु भएको हो ।
संघको भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको आयोजित मेलाको सांस्कृतिक झाँकी प्रदर्शन सहित शुक्रबार भव्यताका साथ समुद्घाटन गरिएको हो । फागुन ८ सम्म सञ्चालन हुने मेलाको प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले समुद्घाटन गर्नु भएको हो ।
मेलाको उद्घाटन गर्दै आचार्यले मेलाले गण्डकी बेशी क्षेत्रको स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै संघको बहुउद्देश्य भवन निर्माणको लागि पहल गर्ने बताउनुभयो । उहाले कालीगण्डकी बेशी क्षेत्रको विकासका लागि तीन वटै तहका सरकार विच सहकार्य र समन्वयको खाँचो रहेको औल्याउनुभयो । आचार्यले कालीगण्डकी सभ्यताको संरक्षण गर्दै प्रवद्र्धनका लागि पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका सरोकारवालाहरु जागरुक हुने समय आएको उल्लेख गर्नुभयो । प्रचुर सम्भावना रहेको रामपुरलाई अन्य शहरहरु संग जोड्नका लागि संघ र प्रदेश बाट प्रथामिकताका साथ योजनाहरु सञ्चालन भैरहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर उद्योग वाणिज्य संघको पहलमा यस क्षेत्रमा औधोगिक विकास गर्न सके मात्र आर्थिक विकासले गति लिने बताउनुभयो । उहाँले संघले आफ्नो भवन निर्माण संगै उद्योग र व्यवसायीक क्षेत्रको विकासमा नेतृत्व लिने गरी अघि बढ्न आग्रह गर्नुभयो । कृषकहरुको प्रोत्साहन र व्यवसायीक बनाउनका लागि मेलाले ठूलो भुमिका खेल्ने बताउनुभयो । उहाँले तीनै तहका सरकार विच आपसी समन्वय नहुँदा विकासलाई गति दिन नसकिएको बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रामपुर सहित कालिगण्डकी बेशी आफैमा कृषि, पर्यटन र उद्योगको लागि प्रचुर सम्भावना रहेको बताउँदै याहाँको आर्थिक विकास संगै सामाजिक रुपान्तरणमा सबैले ध्यान दिनु पर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरको विकासका लागि प्रदेश र संघ सरकार संग सहकार्य गर्न नगरपालिका तप्पर रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको कला संस्कृतिको प्रवद्र्धन, अर्थिक विकासका लागि रामपुर उद्योग वाणिज्य संघ तथा सरोकारवालाहरु संग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जगन्नाथ पन्तले जिल्लाको मानव विकास सुचाङ्क र तथ्याङ निकै चिन्ताजनक रहेको भन्दै आर्थिक विकास संगै सामाजिक विकासमा ध्यान दिन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । उहाँले मेलाको लागि आवश्यक सुरक्षा प्रवन्ध व्यवस्था गरिएको र मेलालाई सभ्य र भव्य बनाउनका लागि मेला भित्र मादकपदार्थ सेवन र जुवालाई निरुत्साहित गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस पाल्पाका कार्यवाहक सभापति ज्ञान बहादुर गाहाले रामपुर सहित कालीगण्डकी बेशी क्षेत्र सम्भावना भएर पनि विकास निर्माणमा पछि परेको बताउँदै विकासमा सहकार्य गरेर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले कालीगण्डकी सभ्यताको रक्षाका लागि सबैको ध्यान आवश्यक रहेको बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले रामपुर धार्मिक, सांस्कृतिक र राजनितिक इतिहास बोकेको भूमि रहेको भन्दै रामपुरको भविष्य कस्तो बनाउने भन्ने तपाईं हाम्रै जिम्मेवारी रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरेले रामपुरको पहिचानका लागि उद्योग वाणिज्य संघले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघको भवन निर्माण हुन नसक्दा नेपाल उद्योग वाणिज्य संघमा संघलाई दर्ता गर्न नसकिएको बताउँदै भवन निर्माणको लाथि आर्थिक स्रोत जुटाउनु मेलाको उद्देश्य रहेको बताउनुभयो । उहाँले कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन, कृषक, घरेलु तथा साना उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न र रामपुर सहित कालीगण्डकी उपत्यकाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न मेला आयोजना गरिएको बताउनुभयो ।
रामपुर उद्योग वाणिज्यसंघका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागतबाट शुरु भएको थियो । मेला उद्घाटन कार्यक्रमको संचालन महासचिव खिम बहादुर क्षेत्री (पुरुषोत्तम) ले गर्नु भएको थियो । मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल, बाल उद्यान, हेलिकप्टर÷प्याराग्लाइडिङ्ग बाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहेको छ ।
उट्घाटनको अवसरमा रामपुर क्षेत्रमा रहेका विभिन्न समुदायको संस्कृतिमा आधारित मौलिक झाँकी तथा विभिन्न संघ संस्थाका ५८ वटा भन्दा बढी झाँकी प्रदर्शन गरिएको थियो ।
तस्वीरमा मेला उट्घाटनको अवसर प्रदर्शन गरिएका सांस्कृतिक झाँकी तथा मेला परिसरका दृश्यहरु