रामपुर महोत्सवका दर्शकलाई पशुपति शर्माले छमछमी नचाए

पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा सहभागी दर्शकहरुलाई लोकदोहोरी गायक पशुपति शर्माले छमछमी नचाउनु भएको छ । रामतुलसी नमुना माविको खेल मैदान बेझाँडमा जारी महोत्सवको तेस्रो दिन लोकदोहोरी भाकामा झुमाउनु भएको हो ।

      आफ्नै शब्द र स्वरमा रहेका, ‘सारङ्गी र्याई र्याई, भयो जीवन तिरिमिरि झ्याई’, ‘छन त मै राम्री छैन, यै हो ज्यान मन पर्छ पर्दैन’, ‘डालीमा चील बस्यो’, ‘मलाई अमेरिका यै’ गितका अन्तरा गाउँदै प्रस्तुतीको सुरुवात गर्नु भएका शर्माले आधा दर्जन बढी गित गाउनुभएको थियो । शर्माको लोक दोहोरी भाका संगै महोत्सवमा सहभागी हजारौं दर्शक छमछमी नाचेका थिए ।
उहाँले ‘मलाई अमेरिका ऐ, मलाई जापान पनि ऐ’, ‘क्यार्नु मायाँ मारिछ्यौ मायाँले’, ‘सारङ्गी र्याई र्याई’, ‘स्याङ्जा जाने बाटोमा तनहुँ, विर्सिजाने मायाँलाई के भनौं’, ‘डालीमा चील बस्यो’, ‘मलाई पनि छ उनलाई पनि छ’, ‘छन त म राम्रो छैन’ लगाएतका भाका गाउँदा दर्शकहरु उफ्रिदै नाचेका थिए । साथै हुटिङ्ग संगै दर्शकहरुको ताली बजेको थियो । शर्माले लुट्न सके लुट कान्छा, लुट सके लुट अरु देशमा पाईदैन नेपालमै हो छुट भाकाको अन्तरा मात्र सुनाउनु भएको थियो ।

पशुपति संगै लोक दोहोरी गायक चन्द्र शर्माले पनि ’धानको चामल, धानैको च्युरा मायालुलाई सम्झना के दिउँ र ?’, ’मायाँलुको गालैमा कोठी’, ‘बाच्छीले धान खायो’ भाका कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । लोकदोहोरी गायिका जमुना राना मगरले ’आँशु पुस्दै छु, तिमी बरु फेरियौं निरमायाँ म त उस्तै छु’, ‘लाउने भए लाउ माया लाउनीले, नलाउ मायाँ छोडेर जानीले’, ‘सोल्टीले मलाई आँखा मार्योनी’ गित मार्फत दर्शकलाई झुमाउनु भएको थियो ।

   हास्यकलाकार पुरुषोत्तम भण्डारी ’पूर्खे बा’ले समाजमा रहेका वास्तविकतालाई रोचक ढंग बाट प्रस्तुत गर्नु भएको थियो । भण्डारीले जन्मदिने बाबु आमाहरुको सम्झनामा आफ्नो गित सुनाउँदा माहोल भाबुक बनेको थियो । सांस्कृतिक कार्यक्रमको प्रस्तोताको रुपमा कलाकार सुमन गैरे रहनु भएको थियो ।

आइतबार ७ हजार भन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गरेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । भोलीको आकर्षणको रुपमा बाल कलाकार सुप्रिम मल्ल ठकुरी, लोकदोहोरी गायक मोहन खड्का, प्रकाश पराजुली, गायिका आरती रुचाल, हास्यकलाकार नीर आले मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रस्तोताको रुपमा नेत्रपाणी बास्टोला रहनु हुनेछ ।

आज पनि मेला स्थल रामतुलसी नमुना माविको खेल मैदान दर्शकहरुले भरिएको थियो । कृषि, घरेलु तथा कुटिर उद्योगका स्थल, बालउद्यान, होटल रेष्टुरेण्ट संगै राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु संगै रम्नेहरुको भिडभाड रहेको थियो । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा फागुन ८ सम्म सञ्चालन हुने मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल, बाल उद्यान, हेलिकप्टर÷प्याराग्लाइडिङ्ग बाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहेको छ ।

संघको भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको आयोजित मेलाको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?