तेस्रो रामपुर महोत्सवमा फागुन ३ देखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

 

पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा यहि फागुन ३ देखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो ।

जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रायोजकमा प्रतियोगिता हुन लागेको हो । आयोजकले सोमबार भलिबल हुने स्थानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगितामा पाल्पा, बाग्लुङ, पर्वत, स्याङ्जा, नवलपुर, नवलपरासी, गुल्मी, तनहुँ, कास्की, रुपन्देही लगाएत १० जिल्लाको सहभागिता रहने छ । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताका संयोजक शंकर बहादुर खाँणले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विभिन्न विद्यामा ५/५ हजार नगद र ट्रफी सहित पुरस्कृत गरिने जनाएको छ । साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको उपाधी प्रदान गरिने जनाएको छ । खाँणले स्थानीय खेल प्रतिभाहरुलाई उत्प्रेरणा प्रदान गर्नुको साथै खेल बाट रामपुरको पहिचानका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले प्रतियोगिता बाट संकलन भएको रकम जिल्ला भलिबल संघ, नगर खेलकुद विकास समिति र रामपुर भलिबल संघको संस्थागत विकासको छुट्याईने बताउनुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले राष्ट्रिय खेलको रुपमा रहेको भलिबलको उजागर गर्नुका साथै खेलको माध्यम बाट रामपुरलाई चिनाउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । प्रतियोगिताका संयोजक शंकर बहादुर खाँणको अध्यक्षतामा भएको पत्रकार सम्मेलन नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनको स्वागत बाट सुुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन पत्रकार दुर्गेश मल्लले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?