पाल्पा, पाल्पाको रामपुरमा जारी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको चौथो सोमबार मेला स्थल दर्शकहरुले खच्चाखच भरिएको थियो । सोमबार सार्वजनिक विदा हुनुका साथै बालकलाकार सुप्रिम मल्लको प्रस्तुति रहने भएकाले पनि भिड लागेको थियो ।
‘द भ्वाइस अफ किड्स’का उपविजेता एवं पछिल्लो समय चर्चामा रहेका मल्लको प्रस्तुति हेर्नका लागि दिउँसो देखि दर्शकहरुको उपस्थिति बढ्दो क्रममा रहेको थियो । कार्यक्रम सञ्चालक नेत्रपाणी बास्टोलाले सुप्रिम नजिकै आई पुगेको खबर बताईरहँदा हुटिङ्गको वर्षा भैरहेको थियो । राष्ट्रिय कलाकार तथा स्थानीय कालाकारहरुको प्रस्तुतिमा मन भुलाउने प्रयास गरिरहेका दर्शकहरुले बेला बेला प्रवेश द्वार तर्फ हेरिरहेका हुन्थे ।
साँझ झण्डै साढे ६ बजेको समयमा जब सांस्कृतिक कार्यक्रम संयोजक दिपक के.सी.ले सुप्रिमलाई दोर्याउँदै मञ्चमा उक्लिनु भयो ताली र हुटिङ्गको वर्षा भएको थियो । दिनभर प्रतिक्षा गरिरहेका दर्शकहरु उत्साहित भएका थिए । उद्घोषकले मञ्चमा निम्त्याउन साथ मेरो भाई भन्दै रामपुरेले आत्मियता प्रकट गरेका थिए । ‘धन्यवाद छ मलाई यतिन्जेल सम्म कुरिदिनु भएकोमा ।’ भन्दै उनी स्टेजको अघिल्तिर आए, तर हुटिङ्ग भने रोकिएन । ‘धनगढी देखि काठमाडौं, काठमाडौं देखि पोखरा आउने क्रममा फ्लाईट डिले भएकोले केही ढिलो हुन पुग्यो । आज भने छोटो प्रस्तुति मात्र दिन्छु । याहाँहरु सम्पूर्णलाई भाली चुल्है छ भन्दै फापरको पिठोको ट्याक बजाई दिनु’ भनिरहँदा पनि हुटिङ्ग जारी नै थियो ।
सुप्रिमले फापरको पिठो पठाईदेउ आमा गित गाईरहँदा दर्शकहरुले पनि साथ दिएका थिए । वान्स मोर भनिरहँदा उनले वान्स मोरका लागि भोली आउनुहोला है भन्दै विदा भएका थिए । उनको प्रस्तुति संगै दर्शकहरु बाहिरिन थालेका थिए । सोमबार महोत्सवमा लोकदोहोरी गायक मोहन खड्का, दोहोरी च्याम्पियन गायक प्रकाश पराजुली, गायिका आरती रुचाल, हास्यकलाकार नीर आले मगर सहित स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
सोमबार देखि रामपुर डान्स आईडल पनि सुरु भएको छ । महोत्सवको टिकट विक्री गर्ने स्थान देखि व्यापारिक स्टल, होटल तथा रेष्टुरेण्ट, बाल उद्यान, साँस्कृतिक कार्यक्रम स्थलमा दर्शकहरुको भिड लागेको थियो । टिकट विक्री कक्ष अगाडि भिड लागेपछि केही हम्मे हम्मे परेको टिकट व्यवस्थापन समितिका संयोजक एवं रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष भरतराज देवकोटा बताउनुभयो । शुक्रबार झण्डै १५ हजार बढीले महोत्सवको अवलोकन गरेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा फागुन ८ सम्म सञ्चालन हुने मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल, बाल उद्यान, हेलिकप्टर/प्याराग्लाइडिङ्ग बाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहेको छ । संघको भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको आयोजित मेलाको आयोजना गरिएको हो ।