पाल्पा , आज १ सय ४६ औँ लखन थापा स्मृति दिवस , देशभर विविध कार्यक्रम गरी दिवस मनाईएको छ । नेपाल कै प्रथम सहिद लखन थापा को सम्झनामा विभिन्न स्थानमा कार्यक्रम भएको छ ।
यसैविच रामपुर पाल्पामा पनि दिवस मनाईएको छ । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको आयोजनामा मंगलबार एक कार्यक्रमका विच दिवस मनाईएको हो । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका अध्यक्ष क्यापटेन देव बहादुर थापा मश्राङ्गीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल मगर संघका केन्द्रिय सदस्य क्यापटेन धन बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिका वडा नं. ४ लखनपार्क खोप्टारमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गर्दै केन्द्रिय सदस्य रानाले देश र जनताको लागि राणा विरुद्ध आवाज उठाउने प्रथम सहिद प्रति राज्यले हेर्ने दृष्टिकोण फेरिन आवश्यक रहेको बताउनुभयो । उहाँले राज्यले प्रथम सहिद घोषणा गरे पनि उचित सम्मान गर्न नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले राणा शासन विरुद्ध आवाज उठाएर आफ्नो प्राण आहुती दिने लखन थापालाई प्रथम सहिद घोषणा गरे पनि सवैले खुलेर बोल्न नसकेको प्रति दुख व्यक्त गर्नुभयो । साथै सहिदको शालिकमा माल्यार्पण मात्र नभई सहिदको सपना साकार पार्ने तर्फ ध्यान नपुगेको बताउनुभयो । शान्तिदिप समाज सुधार युवा क्लवका अध्यक्ष रोशन थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका सचिव जमुना रानाले गर्नु भएको थियो । दिवसको अवसरमा कार्यक्रममा सहभागिहरुले रामपुर ४ लखन पार्कमा रहेको सहिद लखन थापाको शालिकमा माल्यार्पण गरेका थिए ।