रामपुर महोत्सवमा एलिनाको ‘धोकेबाज’ प्रस्तुतिमा घेराबार जोगाउनै हम्मेहम्मे, मंगलबार सुप्रिम र कुशलको दमदार प्रस्तुति

इमान सिं राना

पाल्पा, पछिल्लो समय ‘धोकेबाज’ गितको प्रस्तुति संगै चर्चामा रहनु भएका आधुनिक गितका गायिका एलिना चौहानको क्रेज पाल्पाको रामपुरमा पनि उस्तै देखिएको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको पाँचौ दिन चौहानको प्रस्तुति रहने जानकारी संगै मेलामा दर्शकहरुको आईरो लागेको थियो ।

मंगलबार साँझ पख महोत्सव स्थलमा प्रवेश गर्नु भएका चौहानको उपस्थिति संगै दर्शकहरुको ताली र हुटिङ्ग सुरु भएको थियो । सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षणको रुपमा चौहानको प्रस्तुति रहेको थियो । मैगलबार अन्य कलाकारको प्रस्तुति पश्चात जब चौहानलाई स्टेजमा बोलाईयो दर्शकहरु स्टेशनको घेराबर सम्म आउन तछाड मछाड गरेका थिए । प्रस्तुतिको सुरुवातमा मंगलबार प्रणय दिवसको दिन भएकाले चौहानले प्रेम सम्बन्धी गितहरु गाउने बताउँदै ‘धोकेबाज’ नछुटाउने बताउनु भएको थियो । सुरुवातमा ‘कति रोए म तिम्रो लागि’ भनेर ‘धोकेबाज’ एल्बमको अन्तरा गाउँदै गर्दा दर्शकहरुले कति कराए म तिम्रो लागि भन्दै साथ दिन थालेका थिए । अन्तत चौहानले ‘तिम्रो मायँले बाँधेर राख’, ‘तिम्रै मायाँ लाग्छ बरिलै’ गित प्रस्तुत पश्चात ‘धोकेबाज’ गाउनु भएको थियो ।

चौहानलाई साथ दिएका दर्शकहरु कति कराए म तिम्रो लागि तर बुझेनौ भन्दै बारमा बसेर कराएका थिए । ‘धोकेबाज’ एल्बमको प्रस्तुतिमा घेराबार भत्किने खतरा बढेको थियो । दर्शकहरुको ढकेलाढकेलले स्टेजको घेराबार जोगाउन सुरक्षाकर्मी र व्यवस्थापनमा खटिएकाहरुलाई पनि हम्मेहम्मे परेको थियो । चौहानले ‘के मायाँ लाग्छ र’, ‘गोदावरी बारी संगै बसौ न’, ‘तिमी जस्ता केटाको बुढी भैदैन’, ‘मिलिरल वाटर’ लगाएतका गित गाउनु भएको थियो । दर्शकहरुको माग पछि ‘धोकेबाज’ एल्बम दोस्रो पटक नगाई चौहानलाई नगाई सुखै पाएन । अन्तत दोस्रो पटक पनि ‘धोकेबाज’ गाउन बाध्य हुनुभयो । चौहानको प्रतिक्षामा हजारौको भिड लागेको थियो ।

त्यस्तै सोमबार पुरा प्रस्तुति दिन नपाउनु भएका बालकलाकार सुप्रिम मल्लको क्रेज पनि दर्शकहरुमा देखिएको थियो । मंगलबार पनि सुप्रिम संग दर्शकहरुले भरपुर मनोरञ्जल लिएका थिए । मल्लको ‘परान बाँकी छ’, ‘फापरको पिठो’ गित गाउँदा दर्शकहरुको हुटिङ्ग भएको थियो । प्रणय दिवसको अवसरमा मल्लले ‘हरयुग होस् प्रेमको गितको’, ‘जाउ बाबू नभन्नु आमा’ र ‘छाता ओढाईदेउन’ गित प्रस्तुत गर्नु भएको थियो । सांस्कृतिक कार्यक्रम संयोजक दिपक केसीले बुई चढाएर दर्शकहरु माझ लैजाँदा दर्शकहरु फोटो लिन र हात मिलाउन निकै तछाड मछाड गरेका थिए ।

कार्यक्रममा लोकदोहोरी गायक कुशल वेलवासेको पनि बेजोड प्रस्तुति रहेको थियो । वेलवासेले ‘सनिसार’,‘हातैका पैजाले’, ‘रानीफूल बसायो’ र ‘रातो घलेकीमा’लगाएतका भाका पस्कदै गर्दा दर्शहरु धुलो उडाएर नाचेका थिए । कार्यक्रममा लोक दोहोरी गायिका शान्ति डोटेल सहित स्थानिय कलकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रम प्रस्तोताको रुपमा कल्पना रेग्मी रहनु भएको थियो ।

महोत्सवको टिकट विक्री गर्ने स्थान देखि व्यापारिक स्टल, होटल तथा रेष्टुरेण्ट, बाल उद्यान, साँस्कृतिक कार्यक्रम स्थलमा दर्शकहरुको भिड लागेको थियो । टिकट विक्री कक्ष अगाडि भिड लागेपछि केही हम्मे हम्मे परेको टिकट व्यवस्थापन समितिका संयोजक एवं रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष भरतराज देवकोटा बताउनुभयो । शनिबार पनि झण्डै १५ हजार बढीले महोत्सवको अवलोकन गरेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा फागुन ८ सम्म सञ्चालन हुने मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल, बाल उद्यान, हेलिकप्टर/प्याराग्लाइडिङ्ग बाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहेको छ । संघको भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको आयोजित मेलाको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?