रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबलमा पाल्पाको विजयी सुरुवात

पाल्पा, जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा पाल्पाले विजयी यात्रा सुरु गरेको छ । शुक्रबार विहान भएकोलिग चरणको खेलमा ३/० को सोझो सेटमा गुल्मीलाई पराजित गर्दै पाल्पाले विजयी सुरुवात गरेको हो ।

तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा महोत्सव स्थल रामतुलसी नमुना माविको खेल मैदानमा भएको प्रतियोगितामा पहिलो सेटमा पाल्पाले पहिलो, दोस्रो र तेस्रो सेट क्रमश २५/१८, २५/१४ र २५/१९ अंक सहित आफ्नो पक्षमा लिन सफल भयो । समुह वि तर्फको पहिलो खेलमा विजयी भए संगै पाल्पाले ३ अंक जोड्न सफल भएको छ ।

पाल्पा र गुल्मी वीच भएको खेल विहिबार २/२ सेटको बराबरीमा रोकिएको थियो ।समय अभावका कारण खेल रोकिएको थियो । विहिबारको खेलमा पाल्पाले पहिलो सेट २५–२१, चौथो सेटले २५–२१ सहित हात पारेका थियो भने गुल्मीले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२३ अंक सहित हात पारेको थियो । प्रतियोगितामा १० जिल्लाको सहभागीता रहने भनिए पनि अन्तमा आएर ७ जिल्लाले सहभागिता जनाएका छन् । समुह ए मा बाग्लुङ, पाल्पा, गुल्मी र तनहुँ रहेको छ भने समुह वि मा स्याङ्जा, कपिलवस्तु र नवलपुर रहेको छ । अहिले समुह वि तर्फको दोस्रो खेल स्याङ्जा र कपिलवस्तुको चलिरहेको छ । समुह वि तर्फ स्याङ्जाले ३ र नवलपुरले १ अंक प्राप्त गरेको छ ।

माघ २७ देखि फागुन ८ सम्म सञ्चालन भैरहेको महोत्सवमा जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजकमा प्रतियोगिता भएको हो । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही ५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?