रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबलमा बाग्लुङ्ग र पाल्पा पनि सेमिफाईनलमा प्रवेश

पाल्पा, रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा पाल्पा र बाग्लुङ सेमिफाईनलमा प्रवेश गरेको छ । लिग चरणको खेलमा २/२ खेल जित्दै समुह ए बाट सेमिफाईनलमा प्रवेश गरेको हो ।

समुह ए तर्फ रहेका ४ जिल्ला मध्ये पाल्पाले गुल्मी र तनहुँलाई र बाग्लुङले तनहुँ र गुल्मीलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । आज विहान भएको पाल्पा र तनहुँ विचको खेलमा पाल्पाले २५/२०, २५/९ र २५/१८ अंक सहित सोझो सेटमा पराजित गरेको थियो । समुह ए तर्फको विजेता र उपविजेता चयनका लागि अहिले बाग्लुङ्ग र पाल्पा विच प्रतिस्पर्धा हुँदैछ ।

समुह वि को विजेता स्याङ्जा र उपविजेता नवलपुर शुक्रबार नै सेमिफाईनलमा प्रवेश गरिसकेको छ । माघ २७ देखि फागुन ८ सम्म सञ्चालन भैरहेको महोत्सवमा जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजकमा प्रतियोगिता भएको हो ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही ५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?