आज महाशिवरात्रि, सिद्धबाबा धाम संगै विभिन्न शिवालयहरुमा भक्तजनहरुको भिड

पाल्पा, महाशिवरात्रि पर्वको अवसरमा देशैभर आराध्यदेव भगवान शिवको पूजाराधना संगै भजनकृतन सहित विभिन्न स्थानमा मेला लागेको छ । बिहानै देखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्ति पूर्वक पूजाराधना गर्ने क्रम जारी रहेको छ ।

कालीगण्डकी बेशी क्षेत्रका विभिन्न शिवालयहरुमा विहानै देखि श्रद्धालुभक्तजनहरुको भिडभाड रहेको थियो । विषेश गरी पाल्पाको सिद्धबाबा, रामपुर नगरपालिका ८ को सिद्धबाबा धाम भुजात, वडा नं. १ को टापुधाम, वडा नं. ४ को भिमसेनटोल शिवालय, वडा नं. ५ को बेझाँड शिवालय मन्दिर, बरुणेश्वर महादेव मन्दिर, वडा नं. ६ को तालपोखरा र माझटोल शिवालय, वडा नं. १० को बालसिद्ध मन्दिरमा विशेष पुजा जारी रहेको छ । स्याङ्जाको छायाँक्षेत्रमा भक्तजनहरुको दिनभर भिडभाड रहेको छ ।

पर्यटकिय एवं धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको रामपुर ८ को सिद्धबाबा धाममा दिनभर भक्तजनहरुको विहानै देखि भिडभाड रहेको छ । पाल्पा, स्याङ्जा तनहुँ नवलपुर लगाएत विभिन्न स्थान बाट सिद्धबाबा धाम दर्शनका लागि पुगेका छन् । सिद्धबाबा धाम भुजात पर्यटन विकास समितिका अध्यक्ष त्रिलोचन अधिकारीका अनुसार विहानै देखि भक्तजनहरुको भिड लागेको जानकारी दिदै लाईन व्यवस्थित बनाउन सुरक्षाकर्मी संगै स्वयंसेवक परिचालन गरिएको बताउनुभयो । भुजातमा भक्तजनहरुको संख्या क्रमश बढ्ने क्रममा रहेको छ । आज विहान ६ बजे देखि नै पुजाका लागि भक्तजनहरु पुगिसकेका थिए । पुजापाठ संगै अहिले भजनकृतन पनि भैरहेको छ ।

त्यस्तै स्याङ्जाको चापाकोट क्षेत्र बाट आउने भक्तजनहरुको सुविधाको लागि र्याफ्टिङको समेत व्यवस्था रहेको थियो । सिद्धबाबा धाम भुजात पर्यटन विकास समितिले विभिन्न सम्मानका कार्यक्रम समेत गरेको छ । यता बेझाँड बजार शिवालयमा पनि विहानै देखि भक्तजनहरुको लाईन लागेको थियो । मन्दिरमा पुजापाठको व्यवस्थापन रामपुर होटल तथा रेष्टुरेण्ट व्यवसायी समितिले गर्दै आएको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?