बाग्लुङ लाई पराजित गर्दै नवलपुर जिल्ला स्तरीय पुरुष भलिबलको फाईनलमा प्रवेश

पाल्पा, रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा नवलपुर फाईनलमा प्रवेश गरेको छ । आइतबार विहान भएको सेमिफाईनल खेलमा बाग्लुङलाई ३/२ सेटले पराजित गर्दै नवलपुर फाईनलमा पुगेको हो ।

लिगचरणको समुह ए का विजेता बाग्लुङलाई समुह वि को उपविजेता नवलपुरले पराजित गरेको हो । नवलपुरले पहिलो, तेस्रो र पाँचौ सेट क्रमश २५/१६, २५/२२ र १५/९ मा हात पारेको थियो भने बाग्लुङले दोस्रो सेट २५/२० र २५/१८ अंक सहित लिएको थियो । पहिलो सेमिफाईनल खेलमा म्यान अफ दी म्याच बाग्लुङका लिब्रो कुञ्जन शाही भएका छन् ।
शनिबार भएको यी दुई समुह विचको खेल समय अभावका कारण २/२ सेटको बराबरीमा रोकिएको थियो । प्रतियोगिता अन्तर्गत अहिले दोस्रो सेमिफाईनल खेलमा समुह वि का विजेता स्याङ्जा र समुह ए का उपविजेता पाल्पा विच खेल भैरहेको छ । यस पश्चात सेमिफाईनलमा पराजित समुह विच तृतिय स्थान छनौटका लागि खेल हुनेछ ।

फाईनल खेल आज दिउँसो २ बजे हुने जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । माघ २७ देखि फागुन ८ सम्म सञ्चालन भैरहेको महोत्सवमा जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजकमा प्रतियोगिता सुरु गरिएको थियो ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही ५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १ हजार रुपैयाँ नगद पुरस्कार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?