इमान सिं राना
पाल्पा, पाल्पाको रामपुरमा सम्पन्न जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले हात पारेको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा गत फागुन ३ देखि सुरु भएको प्रतियोगिताको फाईनल खेलमा जिल्ला भलिबल संघ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो ।
स्याङ्जाले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५/२०, २५/१४ र २५/१५ अंक सहित हात पारेको थियो । यस संगै नवलपुर द्वितिय स्थानमा समेटिएको छ । ७ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा आयोजक जिल्ला भलिबल संघ पाल्पा तृतीय उपाधी प्राप्त गरेको छ । तृतिय स्थान छनौट खेलमा जिल्ला भलिबल संघ बाग्लुङलाई ३/१ सेटले पराजित गर्दै पाल्पाले तृतिय उपाधी हात पारेको हो । तेस्रो स्थान छनौट खेलमा जिल्ला भलिबल संघ पाल्पाले पहिलो, दोस्रो र चौथो सेट २५/१७, २५/१८, २५/१६ अंक सहित हात पारेको थियो भने तेस्रो सेट २५/२२ अंक सहित बाग्लुङले हात पारेको थियो ।
जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योगवाणिज्य संघको मुख्य प्रयोजकमा प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका सञ्जु विक्रम शाही, वेष्ट ब्लकर नवलपुरका हिमाल सुनारी, वेष्ट स्पाइकर स्याङ्जाका हरि पाण्डे, वेष्ट सेटर स्याङ्जाका सुदिप राना, वेष्ठ सर्भर पाल्पाका आशिष श्रेष्ठ र वेष्ट डिफेण्डर स्याङ्जाका राजन दर्लामी भएका छन् ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । विजयी खेलाडीहरुलाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको हो ।
जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । पुरस्कार वितरण गर्दै नगर प्रमुख थापाले खेलले समाज र ठाउँलाई चिनाउनुका साथै खेलाडीहरुको व्यक्तित्व विकासमा पनि सहयोग गर्ने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले उद्योगी तथा व्यवसायीहरु संगै खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि मेलामा प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । चापाकोट नगरपालिकाका उपप्रमुख ईशा रानाले खेलाडीहरुलाई उज्वल भविष्यको शुभकामना दिनुभयो । कार्यक्रमको सञ्चालन सञ्जु परियारले गर्नु भएको थियो ।