पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापर मेलामा सहभागी दर्शकहरु आधुनिक गायिका रचना रिमालको प्रस्तुतिमा रमाएका छन् । माहोत्सव स्थलमा भरिएका दर्शकहरु रिमालको प्रस्तुतिमा हुटिङ्ग संगै गाउँदै उफ्रिएका थिए ।
‘फोटो फ्रेममा’ गितको प्रस्तुति पश्चात आईलभ यू रामपुर भन्दै ‘उनको प्रिति पहिले होकी मेरो प्रिति पहिले’ भन्दै मञ्च बाट ओर्लिएर दर्शक माझ पुग्दा दर्शकहरु निकै उत्साहित भएका थिए । गित संगै मेला स्थल हुटिङ्ग र हल्लाले कोलाहल बनेको थियो । प्रस्तुतिको क्रममा ‘तिमी त पोखरेली’, ‘भन न पियारी’, ‘मिनीरल वाटर’, ‘ढुङ्गेधारा अझै नी धोको पुगेन र’, र ‘सम्झिने पानी छम्कनी’ गित गाउँदै गर्दा दर्शकहरु गाउँदै छमछमी नाचेका थिए । वान्स मोरको हुटिङ्ग आए पनि समय अभावका कारण प्रस्तुति रोक्नु भएको थियो ।
लोक दोहोरी गायिका अस्मिता डल्लाकोटीको प्रस्तुतिमा पनि दर्शकहरु उस्तै झुमेका थिए । आइतबारको सांस्कृतिक कार्यक्रममा लोकदोहोरी गायक जिवन सिग्देल, तेजस रेग्मी, अनिश विश्वकर्मा लगाएतको बेजोड प्रस्तुति रहेको थियो । आइतबार जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल, लोक दोहोरी प्रतियोगिताको फाईनल भएकाले पनि दर्शकहरुको उपस्थिति बाक्लो रहेको थियो ।
मेलाको दशौं दिन पनि शनिबार जस्तै दर्शकहरुको घुईचो लागेको छ । महोत्सव स्थल मेलामा रमाउन तथा किनमेलका लागि आउनेहरुको उपस्थितिले भरिभराउ रहेको थियो । आइतबार पनि सार्वजनिक विदा हुनुका साथै मेला अन्तिम अन्तिम चरणमा भएकाले दर्शकहरुको आईरो लागेको हो । मेला समापन हुने मिति नजिकिनुका साथै सार्वजनिक विदा परेकाले मेला अवलोकनका लागि आउनेको सख्या आज पनि उल्लेख्य रहेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार पनि २० हजार बढीले मेलाको अवलोकन गरेका छन् ।
मेला अवलोकनका लागि गण्डकी वेशी क्षेत्रको पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर लगाएत विभिन्न जिल्ला बाट आएका थिए । मेला स्थल रामतुलसी नमुना माविको खेल मैदान दर्शकहरुले भरिभराउ थियो । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा फागुन ८ गते भोलि सम्म सञ्चालन हुने मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल, बाल उद्यान, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहेको छ ।
कोरोना महामारीले थिलोथिलो बनेको अर्थतन्त्र उकास्न तथा संघको बहुउद्देश्य भवन निर्माणको लागि सञ्चालन भएको मेलाको दशौं दिनको प्रमुख अतिथी रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा रहनु भएको थियो । थापाले मेलाले व्यवसायीहरुमा उत्साह जगाएको बताउनुभयो ।
मेलाको सोमबार प्रतिनिधि सभा सदस्य एवं उद्योगपति विनोद चौधरीको प्रमुख आतिथ्यतामा समापन गरिदैछ । भोलीको आकर्षणको रुपमा लोक तथा दोहोरी गायक पुष्कल शर्मा, गायिका सिर्जना आले लगाएतको प्रस्तुति रहने छ ।