पाल्पा, प्रतिनिधि सभा सदस्य तथा उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेसले अबको आर्थिक क्रान्तिको जिम्मेवारी लिएर अघि बढ्नु पर्ने बताउनु भएको छ । पाल्पाको रामपुरमा गत माघ २७ देखि सोमबार सम्म सञ्चालन भएको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै चौधरीले नेपालका ठूला ठूला आर्थिक र राजनितिक क्रान्तिको नेतृत्व गरेको कांग्रेस पार्टीले अबको आर्थिक क्रान्तिको जिम्मेवारी लिनु पर्ने बताउनुभएको हो ।
कांग्रेस केन्द्रिय सदस्य समेत रहनु भएका चौधरीले भन्नुभयो “नेपालका ठूला ठूला आर्थिक र राजतिनिक क्रान्तिको नेतृत्व गरेको कांग्रेस पार्टीले अबको आर्थिक क्रान्तिको जिम्मेवारी लिनु पर्छ । सबै राजनितिक पार्टीहरुलाई जोड्नु सक्नु पर्छ । यस्तो वातावरण बनाउनु पर्छ कि कुनै पनि नेपालीको छोराले बुहारीले छोरीले नेपाल भन्दा बाहिर काम खोज्न नपरोस् ।” उहाँले राजनितिलाई विकास संग विकासलाई उद्यम र व्यवसाय संग जोड्नु आवश्यक रहेको बताउनुभयो । “राजनितिक र विकासलाई जोड्नु नेपालको सबै भन्दा महत्वपूर्ण कुरा हो । हामी जो जहाँ बाट सक्छौ मुलुकको विकासको लागि आआफ्नो तर्फ बाट लाग्नु पर्छ । राजनितिको टिकाटिप्पणी गरेर मात्र हुँदैन ।” चौधरीले भन्नुभयो ।
नेपालमा साधनको कमी नरहेको भन्दै व्यवस्थापनको मात्र कमजोरी रहेकाले त्यो भुमिका युवा पुस्ताको हातमा रहेको उल्लेख गरे । विश्वका मुलुकहरु राजनितिक परिवर्तन मार्फत विकासलाई गति दिएर नै समृद्धि हासिल गरेको बताउनुभयो । विगतको तुलनामा टेक्नोलोजिले अहिले धेरै सहज बनाएको स्मरण गराउँदै चौधरीले भन्नुभयो, “विश्वभर छरिएर बसेका नेपालीको सपना याहाँको सम्भावना संग टेक्नोलोजिको माध्यम मार्फत जोड्न सकिन्छ । त्यसैले नेपालको राजनिती विकास र युवा केन्द्रित हुने पर्छ । युवाहरुलाई जोड्न सक्नु पर्दछ ।” उहाँले सोच र संकल्प भएमा स्रोत र साधनको कमि नहुने बताउनुभयो । त्यसका लागी लघुताभासलाई छाडेर सम्भावनाको खोजी गर्नु पर्ने बताउनुभयो ।
पहिलो पटक रामपुर आईपुग्नु भएका चौधरीले रामपुर निकै सम्भावना रहेको स्थान भएको बताउँदै विकासलाई कसैले छेकेर, रोकेर नरोकिने बताउनुभयो । विकासका लागि भिजनको खोजी आवश्यक रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ भित्र रहेका संघहरुले त्यसको खोजी गर्दै आएको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले कालीगण्डकी उपत्यका विकासको कार्यका लागि प्रतिवद्ध भएर सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकार मार्फत पहल गर्ने बताउनुभयो । महोत्सवले व्यवसायलाई चलायमान बनाउन र रामपुरलाई चिनाउन थप सफल भएको उल्लेख गर्नुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिकाले घरेलु तथा साना उद्योग स्थापना तथा व्यवसाय प्रवद्र्धनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाले चालेको अभियानमा साथ दिन आग्रह गर्नुभयो । कला र संस्कृति संगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामपुर संगै कालीगण्डकी उपत्यकाको विकासको लागि तीनै तहका सरकार संग समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले कालीगण्डकी करिडोर निर्माण संगै गण्डकी बेशी क्षेत्रको विकासको ढोका खुलेको बताउनुभयो । उहाँले रहेका उत्पादनलाई वृद्धि गर्दै निर्यातलाई प्रवद्र्धन गर्ने तर्फ केन्द्रित हुनु पर्ने समय आएको उल्लेख गर्नुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भेजेन्द्र प्रकाश ढकालले संघको आगामी योजनाको बारेमा प्रकाश पार्दै मेला भव्य र सभ्य रुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले मेला बाट संघले लक्ष्यभन्दा बढी उपलब्धी हासिल गर्न सफल भएको बताउँदै मेला सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
अध्यक्ष ढकालको अध्यक्षतामा भएको समापन समारोहमा संघका वाणिज्य उपाध्यक्ष विष्णु सारुले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव खिम बहादुर क्षेत्री (पुरुषोत्तम)ले गर्नु भएको थियो । मेलाको अन्तिम दिन सोमबार पनि मेला स्थल दर्शकले भरिभराउ थियो । गत माघ २७ देखि रामपुरमा सुरु भएको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा सोमबार पनि १५ हजार बढी दर्शकले अवलोकन गरेको संघले जनाएको छ । ११ दिन सम्म सञ्चालन भएको मेलाको अन्तिम दिन महोत्सव स्थलमा किनमेल गर्ने तथा रम्न पुगेका दर्शकहरुको उपस्थितिले मेला स्थल भरिभराउ रहेको थियो । बालउद्यान, होटल तथा रेष्टुरेण्ट, व्यापारिक स्टल तथा सांस्कृतिक कार्यक्रम स्थलमा भिडभाड भियो ।
लोक तथा दोहोरी गायक पुष्कल शर्मा, माधव भण्डारी र गायिका सिर्जना आलेको प्रस्तुतिमा दर्शकहरु निकै रमाएका थिए । गायक शर्माको प्रस्तुतिमा दर्शकहरुको हुटिङ्ग गर्दै नाचेका थिए । मेला अवधिभर व्यापारिक स्टल, बालउद्यान, होटल तथा रेष्टुरेण्ट संगै भलिबल तथा सांस्कृतिक कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । मेला अवलोकनका लागि गण्डकी वेशी क्षेत्रको पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर लगाएत विभिन्न जिल्ला बाट दर्शकहरु आएका थिए । रामतुलसी नमुना माविको खेल मैदानमा भएको मेला रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा सञ्चालन भएको थियो ।
संघको बहुउद्देश्य भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको आयोजित मेलामा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल, बाल उद्यान, राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, जिल्ला स्तरिय भलिबल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता र विद्यालय स्तरिय डान्स आईडल आकर्षणको रुपमा रहेको थियो ।