रामपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, मुटु तथा मृगौलाका विरामीलाई राहत

पाल्पा, पाल्पाको रामपुरमा मुटु तथा मृगौला रोग सम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस किसानबारीमा भएको एक दिने शिविरबाट १ हजार २ सय १० जनाले सेवा लिएका छन् ।

रोटरी क्लब अफ रामपुर, ज्योति पुञ्ज युवा क्लव रामपुर र रोट्रायाक्ट क्लव अफ सेन्ट्रल बुटवलको संयुक्त आयोजना, रामपुर नगरपालिकाको संरक्षक, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवल, कालिगण्डकी आँखा उपचार केन्द्र र शहिद बहुमुखी क्याम्पस रामपुरको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियो । शिविरको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले समयमा स्वास्थ्य परिक्षण गर्ने बानी नहुँदा अकालमै ज्यान गुमाउनु परिरहेको बताउँदै मानिसको संवेदनशिल अंग मुटु, मृगौलालाई प्राथमिकता दिएर शिविर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले साधारण परिक्षण मात्रै नगरिकन रोग निदान हुने गरी उपचार सेवा दिन स्वास्थ्यकर्मीलाई अनुरोध गर्नुभएको छ । नगरपालिका सहज स्वास्थ्य सेवा प्रदानका लागि संघ संस्थाहरु संग सहकार्य गर्दै अघि बढ्न सदा तप्पर रहेको बताउनुभयो ।

 

गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज अलामले ठाउँ ठाउँमा गएर उपचार गर्ने मात्रै होईन रोगको निदान गर्ने चाहना रहेको भन्दै स्वास्थ्य जस्तो संवेदनशील कुरामा वेवास्ता गर्दा घातक रोगको सिकार बन्नु परेको बताउनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रको सुधारको लागि सरकारी क्षेत्रको मात्रै मुख ताक्ने प्रवृतिको अत्य गरी समुदाय आफै लाग्न सकेमा थप प्रभावकारी हुने बताउनुभयो । ज्योति पुञ्ज युवा क्लवका अध्यक्ष सुदिप गौतमले शहर देखि टाढा रहेको रामपुर क्षेत्रका नागरिकलाई गाउँमै सहज सेवा दिन मुटु, मृगौलाको परिक्षण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनु भयो । रामपुरमा डाइलायसिसको सेवा अत्ति आवश्यक रहेको जानकारी गराउँदै तथ्याङ संकलन भैरहेको बताउनुभयो ।

रोटरी क्लव अफ रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको उट्घाटन कार्यक्रम रोट्रायाक्ट क्लव बुटवलका कोषाध्यक्ष प्रेमप्रकाश श्रेष्ठले स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको संचालन रोटरी क्लव अफ रामपुरका सचिव सुर्यप्रसाद घिमिरेले गर्नुभएको हो । विशेषज्ञ बाट निशुल्क स्वास्थ्य परिक्षण संगै औषधी निशुल्क प्राप्त भए पनि स्थानियहरु खुशी भएका छन् । शिविरमा ईसिजि, ईको तथा प्रयोगशाला सेवा, रक्त परिक्षण सेवा संगै विशेषज्ञ डाक्टरहरु मार्फत मृटु तथा मृगौलाको परिक्षण गरिएको थियो । आफ्नै गाउँ ठाउँमा शिविरमार्फत सेवा पाउँदा बिरामी उत्साहित भएर लामबद्ध रुपमा पालो पर्खेर सेवा लिएका थिए । सेवाग्राहीलाई सहज सेवा दिलाउन आयोजकले स्वंयम सेवक परिचालन गरेको थियो । शिविरको लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले अवलोकन गरी सेवाग्राहीलाई सहज रुपमा राम्रो सेवा दिन आयोजकलाई अनुरोध गर्नुभएको थियो ।

शिविर बाट रामपुर नगरपालिका सहित कालीगण्डकी बेशी क्षेत्रका १ हजार २ सय १० जनाले सेवा लिएको रोटरी क्लव अफ रामपुरका अध्यक्ष रुद्र नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?