४१ औं राष्ट्रिय मगर एकता दिवस रामपुरमा भव्यताका साथ मनाईदै

फाइल तस्वीर

पाल्पा, पाल्पाको रामपुरमा सोमबार ४१ औं राष्ट्रिय मगर एकता दिवस भव्यताका साथ मनाईने भएको छ । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाले यस वर्ष पनि ४१ औं राष्ट्रिय मगर एकता दिवस भव्यताका साथ मनाउन लागेको हो ।

एकिकृत मगर उत्थान समाजको १५ औँ बार्षिक उत्सव तथा ४१ औँ राष्ट्रिय मगर एकता दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउन लागेको हो । विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि फागुन १५ गते रामपुर नगरपालिकाको मुख्य बजार बेझाँडमा भव्यताका साथ दिवस बनाउने तयारी भैरहेको एकिकृत मगर उत्थान समाजका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले जानकारी दिनुभयो । मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यका दिवस विशेष कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुभयो ।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ७ वटा भन्दा बढी विभिन्न उपसमिति गठन गरी तयारी अघि बढिरहेको समाजका सहअध्यक्ष नरेन्द्र कुमार जर्घाले बताउनुभयो । कार्यक्रममा मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगाएतका विभिन्न झाँकी प्रस्तुति रहने छ । कार्यक्रमको पूर्व सन्ध्यामा मौलिक पोसाक सहित झाँकी र नौमती पञ्चे बाजाका साथ हजारौंको सहभागीतामा र्याली निकालिदै छ ।

कार्यक्रमको अवसरमा विभिन्न मगरी खानाका परिकारहरु विक्री तथा प्रर्दशनी पनि रहने छ । रामपुर ५ बेझाँड बजार, रामपुर युवा क्लवको मञ्च भवनमा हुने कार्यक्रममा ज्येष्ठ नागरिक एवं विद्यार्थी सम्मान सहित ख्यातिप्राप्त कलाकारहरु सालैजो तथा ठाडो भाका गायक प्रसाद खप्तरी मगर, लोकदोहोरी गायिका निरा थापा मगर र निलिमा थापा मगरको पनि प्रस्तुति रहने छ । आइतबार आज युवाहरुको सहभागीतामा सद्भाव र्याली पनि निकालिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?