पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ तातोपानी धाम गत फागुन ९ देखि श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचनमा जारी रहेको छ । रामपुर नगर गौशालाको तेस्रो वार्षिक संगै गौशालाको दिगो सञ्चालनका लागि नगर गौशाला व्यवस्थापन समिति रामपुर नगरपालिका पाल्पाको आयोजनामा भएको प्रवचन भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
भागवत् मन्जरी राधिका दासीको मुखार विन्दबाट कथा श्रवणका लागि दैनिक हजारौंको संख्यामा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका भक्तजनहरुले उपस्थिति जनाउने गरेको गौशाला व्यवस्थापन समितिले जनाएको छ । यस क्षेत्र कै व्यवस्थित गौशालाको रुपमा रहेको रामपुर नगर गौशालाको व्यवस्थापन तथा गाईको संरक्षण अभियानमा भक्तजनहरुले साथ दिईरहेका छन् । कालीगण्डकी किनारमा भैरहेको प्रवचनमा कथा श्रवण संगै भक्तजनहरु बाट स्वतस्फूर्त दान संकलन भैरहेको छ । प्रवचनको छैंठौ दिन सम्म आउँदा १६ लाख बढी दान संकलन स्वस्फूर्त संकलन भैसकेको नगर गौशाला व्यवस्थापन समिति रामपुर नगरपालिका पाल्पाका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । दानको लागि कसैलाई अनुरोध नगरे पनि स्वतस्फूर्त भत्तलजनहरुले दान गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले कथा श्रवणका लागि सबैलाई निमन्त्रणा गरेका छौं । सहभागीहरुले कथा श्रवण संगै स्वत स्फूर्त दान गरिरहनु भएको छ ।” गाईको महत्वलाई बुझेर दान गर्नेहरुको संख्या उल्लेख्य रहेको बताउनुभयो ।
कथा प्रवचनमा दैनिक हजारौंको संख्यामा भक्तजनहरुले उपस्थिति जनाउँदै आएको नगर गौशाला व्यवस्थापन समिति रामपुर नगरपालिका पाल्पाका सचिव बासुदेव ढकालले जानकारी दिनुभयो । प्रवचनमा आईतबार पनि दान गर्ने क्रम जारी नै थियो । गौशाला संचालनको लागि कोष स्थापना गर्न सञ्चालित प्रवचनमा आईतबार बेलघारी सामुदायिक वन रामपुर ६ पाल्पाले ५० हजार १ सय ११ प्रदान गरेको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा आइतबार गल्याङ नगरपालिका स्याङ्जाका नगरप्रमुख गुरु प्रसाद भट्टराई प्रमुख अतिथी रहनु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै कालीगण्डकी वेशी क्षेत्रको विकासका लागि यस क्षेत्रका जनप्रतिनिधिहरु सहकार्य गरेर अघि बढेको बताउनुभयो । उहाँले नगरपालिकाले गौशालालाई गण्डकी बेशी क्षेत्र कै गहनाको रुपमा लिएको र यसको विकासका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
प्रवचनमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे लगाएतको पनि उपस्थिति रहेको थियो । फागुन १५ गते भोली सोमबार सम्म सम्म संचालन हुने सप्ताहमा भागवत मन्जरी राधिका दासीको मुखार विन्दबाट कथा प्रवचन भईरहेको छ । सप्ताहको सोमबार अपरान्ह ४ बजे समापन गरिदैछ । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरेले गर्नुभएको थियो ।