राष्ट्रिय मगर एकता दिवसको अवसरमा सोमबार पाल्पाका सबै पालिकामा सार्वजनिक विदा

पाल्पा, ४१ अौं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सोमबार पाल्पाका १० वटै पालिकाले सार्वजनिक विदा घोषणा गरेको छ । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा स्थानीय तहले सार्वजनिक विदाको घोषणा गरेको हो ।

कार्यपालिकाको बैठक बाट निर्णय गरि जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाले दिवसको अवसरमा स्थानीय विदा घोषणा गरेको हो । पालिकाहरुले सूचना जारी गर्दै सार्वजनिक विदाको घोषणा गरेका छन् । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, संघ संस्थाले सोमबार ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आएको छ । मगर बाहुल्यता रहेको पाल्पाका विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शन लगायत विभिन्न कार्यक्रमहरु हुँदैछन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् ।जिल्लामा पालिकाहरुले नै दिवस विशेष कार्यक्रम सञ्चालन गर्दैछ ।

दिवसको अवसर पारी एकिकृत मगर उत्थान समाज रामपुरले पनि साँस्कृतिक झाँकी प्रदर्शन तथा जेष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम बेझाँडमा गर्दैछ । रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी, तिनाउ, बगनासकाली, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका गरी सबै स्थानिय तहले सार्वजनिक विदा दिएको छ । २०६८ को जनगणना अनुसार पाल्पामा ५२ प्रतिशत भन्दा धेरै मगरहरुको बसोबास रहेको छ ।

जसमा रामपुर नगरपालिकामा ३६, निस्दी गाउँपालिकामा ८७, पूर्वखोला गाउँपालिकामा ८४, माथागढी गाउँपालिकामा ७५, तिनाउ गाउँपालिकामा ६०, रम्भामा ७०, बगनासकालीमा ५१ र रैनादेवी छहरामा ५८ प्रतिशत मगर समुदायको बासोबास रहेको छ । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन शुरु गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?