रामपुर ६ तातोपानी धाममा संचालन भएको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचन सम्पन्न

पाल्पा , रामपुर नगरपालिका वडा नं. ६ तातोपानी धाममा संचालन भएको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचन साेमबार सम्पन्न भएको छ ।

रामपुर नगर गौशालाको तेस्रो वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहको समापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गाईको धार्मिक र बैज्ञानिक महत्व रहेको बताँउदै यसको महिमा र महत्व बुझ्न नसक्दा गाई हेलामा परेको बताउनु भएको छ । गाईको गउँत , गोबर र दुधको छुट्टै महत्व रहे पनि गाईको संरक्षणमा सवैको ध्यान पुग्न नसक्नु दुखद रहेको बताउनुभयो । नगर भित्रका स्थानमा बालिनाली खाएको वेला कुटिएको अवस्था र हत्या समेत भए पछि गाईको संरक्षणको दायित्व नगरपालिकाको हो भन्ने लागेर नगर गौशालाको स्थापना गरेको स्मरण गर्दै नगर प्रमुख थापाले गाईको संरक्षणका लागि सवैले ध्यान दिनु पर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले गाईको व्यवस्थापनका लागि गौशाला स्थापना गरे पनि विभिन्न स्थानबाट गाई ल्याएर व्यवारिसे अवस्थामा छाड्ने गरेकोले यसको व्यवस्थापनमा चुनौती रहेको बताउनुभयो । गौशाला संगै नगरपालिका भित्रका विभिन्न धार्मिक स्थलहरुको संरक्षण गरि धर्म संस्कार र संस्कृति संग जोडिएको समृद्ध रामपुर नगर निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ । गाईको संरक्षण संगै गौशालाको दिगोपनाका लागि नगरपालिका संधै अविभावकिय भुमिकामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै भागवत बाचिका राधिका दासी जीले नगर गौशाला नगरपालिकाले संरक्षकत्व गरेको पहिलो नगर गौशाला भएको बताउनुभयो । विभिन्न स्थानमा संचालित गौशाला धर्म गुरु तथा संस्थानले संचालन गरे पनि रामपुर नगर गौशाला स्थानिय सरकारले संचालन गरेको पहिलो गौशालाको रुपमा रहेको दावि गर्नुभयो । उहाँले नगर भित्र रहेका विभिन्न धार्मिक स्थानहरुको प्रबद्र्धन गरि आन्तरिक तथ बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो । पवित्र स्थानको रुपमा यो क्षेत्रलाई रामपुर धामको रुपमा विकास गर्न आवश्यक रहेको औँल्याउनुभयो । गाईको महिमा र महत्व बुझ्न आवश्यक रहेको भन्दै संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले र उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले गाईको संरक्षण र गौशालाको व्यवस्थापन तथा संचालनका लागि सबै एक भएर लाग्न आवश्यक रहेको बताउनुभयो । गत फागुन ९ गते देखि चलेको सप्ताह अवधिभर करिब १५ लाख रुपैयाँ दान संकलन भएको रामपुर नगर गौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानले जानकारी दिनुभयो । समितिका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको समापन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन सचिव बासुदेव ढकालले गर्नु भएको थियो । भजन कृतन सहित संगितमय शैलीमा भएको सप्ताह अवधिभर भागवत् मन्जरी राधिका दासीको मुखार विन्दबाट कथा प्रवचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?