इमान सिं राना
पाल्पा, पाल्पाको निस्दी गाउँपालिकामा आगामी फागुन २३ देखि ३० गते सम्म बृहत नि:शुल्क आँखा तथा प्रजनन् स्वास्थ्य शिविर हुने भएको छ । दृष्टिमा समस्या भएका तथा प्रजनन् स्वास्थ्य समस्या भएका नागरिकहरुको उपचार संगै सचेतना जगाउन शिविर सञ्चालन गर्न लागेको निस्दी गाउँपालिकाले जनाएको छ ।
शिविर गाउँपालिकाको आयोजना, नेपाल परिवार नियोजन संघ, पाल्पा शाखा, पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको हो । नागरिकहरुको सहजताका लागि ७ वटै वडाका स्वस्थ्य संस्थामा शिविर सञ्चालन गरी सेवा प्रदान गरिने निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले जानकारी दिनुभयो ।
उहाँका अनुसार फागुन २३ गते निस्दी १ को बाकामलाङ स्वास्थ्य चौकी बाट शिविर सुरु हुने छ । त्यस पश्चात क्रमश २४ गते निस्दी २ को सहकोट स्वस्थ्य चौकी, २५ गते निस्दी ३ को झिरुबास स्वास्थ्य चौकी, २६ गते निस्दी ६ को अर्चले स्वास्थ्य चौकी, २७ गते निस्दी ५ को गल्धा स्वास्थ्य चौकी, २८ गते निस्दी ७ को ज्यामिरे स्वास्थ्य चौकी, २९ र ३० गते निस्दी ४ मित्याल स्थित गौरीशंकर माविमा शिविर सञ्चालन हुनेछ ।
शिविरमा आँखा परिक्षण, विद्यार्थी र जेष्ठ नागरिकहरुका लागि निशुल्क चस्मा वितरण, मोतिया विन्दु भएको आँखाको निशुल्क अप्रेशन, महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण, महिलाहरुको आङ्ग खस्ने समस्याको परिक्षण उपचार तथा प्रेषण सेवा, यौनरोगहरुको परीक्षण, उपचार र व्यवस्थापन सेवा, परिवार नियजनका साधन अन्र्तगत पुरुषहरुको लागि स्थायी बान्ध्यकरण, महिलाहरुको लागि इम्पलाण्ट र आई.यू.सि.डी. सेवा प्रदान गर्नुका साथै निशुल्क औषधी वितरण पनि हुने स्वास्थ्य शाखा प्रमुख दिशाले बताउनुभयो ।
कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका प्रमुख सुन्दर रानाका अनुसार शिविर बाट छनौट भएका आँखाको मोतिया विन्दुको अप्रेशन गर्नु पर्ने विरामीहरुलाई २८ गते कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर र ३० गते गौरी शंकर मावि मित्याल बाट स्वास्थ्य सेवा प्रदान गरिने छ ।