नारी दिवसमा निस्दी गाउँपालिकाले स्नातकोत्तर तह उत्तिर्ण महिलाहरुलाई सम्मान गर्ने

इमान सिं राना
पाल्पा, पाल्पाको निस्दी गाउँपालिकाले स्नातकोत्तर तह उत्तिर्ण गर्ने महिलाहरुलाई सम्मान गर्ने भएको छ । १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले स्तातकोत्तर तह उत्तिर्ण पालिका भित्रका महिलाहरुलाई सम्मान गर्ने तयारी गरेको हो ।

निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले महिलाहरुलाई अध्ययनका लागि प्रेरित गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका भित्र कै नारीहरुलाई शिक्षा प्रति प्रेरित गरी स्थानीय तहमा आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ यस पटक स्नातकोत्तर तह उत्तिर्ण महिलाहरुलाई नारी दिवसको अवसरमा सम्मान गर्न लागेका हौं ।” श्रेष्ठले पालिका शिक्षामा पछि रहेको र त्यस माथि महिलाहरु झनै पछि रहेकाले विविध चुनौती बाजदुत स्नातकोत्तर उत्तिर्ण गरेका महिलाहरुलाई सम्मान गर्न लागेको जानकारी दिनुभयो ।

गाउँपालिकाले नगद ५ हजार सहित दोसल्ला, सम्मान पत्रले सम्मान गर्न लागेको हो । बालमैत्री गाउँपालिका घोषणाका लागि अभियान सञ्चालन गरिरहेको निस्दी गाउँपालिकाले स्नातकोत्तर तह उत्तिर्ण महिलाहरुलाई सम्मान पश्चात केही समय पछि १२ कक्षा उत्तिर्ण तथा प्राविधिकधार तर्फको शिक्षा अध्ययन पुरा गरी २० पछि मात्र विवाह गर्ने महिलालाई पनि सम्मान गर्ने जनाएको छ । निस्दी गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख विमला आचार्यले स्नातकोत्तर तह उत्तिर्ण महिलाहरुलाई सम्मानका लागि वडा कार्यालयहरु मार्फत तथ्याङ्क संकलन भैरहेको जानकारी दिनुभयो । गाउँपालिकाले वडाकार्याहरुलाई पत्राचार गरी २३ गते भित्र स्नातकोत्तर तह उत्तिर्ण महिलाहरुको प्रमाण पत्रको प्रतिलिपि सहित नामावली बुझाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?