निस्दी गाउँपालिकाले गर्यो स्नातकोत्तर उत्तिर्ण महिलाहरुलाई सम्मान

धन बहादुर ठाडा

पाल्पा, पाल्पाको निस्दी गाउँपालिकाले पालिका भित्रका स्नातकोत्तर उत्तिर्ण महिलाहरुलाई सम्मान गरेको छ । १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरुलाई अध्ययनका लागि प्रेरित गर्ने उद्देश्यका साथ स्नातकोत्तर तह उत्तिर्ण १० जना महिलाहरुलाई सम्मान गरेको हो ।

पालिका दिवसको अवसरमा कार्यक्रम गरी नगद ५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो । कार्यक्रममा महिला उत्थान अभियान्त गीता पाण्डेले सामाजिक विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पाण्डेले महिलाहरु राजनीतिक क्षेत्रमा पनि अघि बढ्नु पर्ने बताउनुभयो । महिलाहरुको हक, अधिकार प्राप्तिका लागि भएका महिला आन्दोलनका उपलब्धिहरुलाई बिर्सन नहुनेमा जोड दिनुभयो ।

निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले महिलाहरुलाई शिक्षा क्षेत्रमा अघि बढ्नका लागि प्रेरित गर्न सम्मान गरिएको बताउनुभयो । उहाँले महिलाहरुलाई शैक्षिक, अर्थिक र सामजिक क्षेत्रमा अघि बढाउनका लागि गाउँपालिका महिला समुह, संघ संस्थाहरु संगै सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा निस्दी ६ का वडाध्यक्ष मेख बहादुर सुनारी, निस्दी ३ का वडाध्यक्ष नबिन्द्र थापा सोती, कार्यपालिका सदस्य मिम्श्री बयम्बु, सम्मानित महिला विष्णु राना लगायतले आआफ्नो भनाई राख्नु भएको थियो ।

गाउँपालिकाको बहुउद्देश्यीय सभा हलमा भएको कार्यक्रममा निस्दीका ७ वटै वडाका विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम निस्दी गाउँपालिकाको आयोजना र निस्दी महिला समन्वय समितिको समन्वयमा भएको हो । समन्वय समितिका संयोजक तिर्सना खन्गाहाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चाल निस्दी गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख विमला आचार्यले गर्नुभएको हो ।

तस्वीरहरुः निस्दी गाउँपालिकाको फेसबुक पेज मार्फत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?