नारी दिवसको अवसरमा रामपुर नगरपालिकाद्धारा महिलाहरु सम्मानित

पाल्पा , रामपुर नगरपालिकाले १ सय १३ औँ नारी दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । महिला श्रमिक दिवस तथा नारी दिवसको अवसरमा नगरपालिकाले बुधबार महिलाहरुलाई सम्मान गरेको हो । नगरपालिकाको अनुदान तथा नगरपालिकाले संचालन गरेका तालिम मार्फत उद्यमी बनेका महिला तथा समुहहरुलाई सम्मान गरेको छ । नगरपालिकाले उत्कृष्ट महिला उद्यमी , समुह , कलाकार तथा पत्रकार गरी ५० भन्दा बढि महिलाहरुलाई सम्मान गरेको हो ।

महिलाहरुलाई सम्मान गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा महिला नेतृ विष्णुमाया ढकालले महिलाहरु आर्थिक र शैक्षिक रुपले सफल हुन आवश्यक रहको बताउनु भएको छ । उहाँले महिलाहरुको हक अधिकार र समृद्धिका लागि शैक्षिक र आर्थिक रुपमा सबल हुनु पर्ने बताउनुभयो । उहाँले विकासका लागि महिलाहरु हरेक हिसाबले सक्षम हुन जरुरी रहेको उल्लेख गर्नुभयो । “अधिकार प्राप्त गर्नु ठुलो कुरा होईन यसको सदुपयोग गर्न पनि सक्नुपर्छ , त्यसका लागि महिला दिदिबहिनिहरु हरेक हिसाबले सक्षम हुन जरुरी छ” – उहाँले भन्नुभयो । उहाँले नगर भित्रका महिलाहरुलाई उद्यमको माध्यमबाट आर्थिक रुपमा समृद्ध र आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले महिला हक अधिकारको लागि मात्र नभई देशको हरेक आन्दोलन सफल पार्नका निम्ती महिलाहरुको उल्लेखनीय भुमिका रहेको बताउनुभयो । तिनै आन्दोलनबाट प्राप्त उपलब्धिले संघीय लोकतान्त्रिक व्यवस्था जारी भएको स्मरण गर्नुभयो । नगर प्रमुख थापाले पछिल्लो समय महिला पुरुष विचको विभेद न्यून अवस्थामा रहेको भन्दै हरेक क्षेत्रमा पुग्नका लागि ईच्छाशक्तिको आवश्यक रहेको औँल्याउनुभयो । राज्यको माथिल्लो दर्जा सम्म पुग्नका लागि ईच्छा शक्तिको आवश्यकता रहेको बताउँदै दक्षता र क्षमताका आधारमा राज्यले अवसर प्रदान गरि रहेको उल्लेख गर्नुभयो । थापाले महिलाहरुको क्षमता विकास र आर्थिक समृद्धिका लागि नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रम संचालन गरेको बताउनुभयो । कुनै महिलाले प्रतिबद्धता सहित पेशा व्यवसाय गर्न चाहे उनिहरुका लागि ज्ञान सिप तथा तालिम संचालन गरी अनुदान तथा आर्थिक सहायता प्रदान गर्ने बताउनु भएको छ ।

महिलाहरुलाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले महिलाहरु राज्यका हरेक निकायमा आरक्षण कोटामा मात्र सिमित नभई खुल्ला प्रतिस्पर्धाबाट अघि बढ्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि महिलाहरु पुरुष संग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न आवश्यक औँल्याउनुभयो । उहाँले चुलोचौकोमा सिमित रहेका महिला दिदिबहिनिहरु पछिल्लो समय हरेक क्षेत्रमा पुग्न सफल भएको भन्दै अब आत्मनिर्भरताका लागि आर्थिक रुपले समृद्ध हुनु पर्नेमा जोड दिनुभयो । उपप्रमुख थापाले हिंसा र अन्यायलाई दबाएर राख्न नहुने भन्दै यसका लागि खुलेर लाग्न आवश्यक रहेको बताउनु भएको छ । साथै नगरपालिका भित्रका कुनै पनि महिला दिदि बहिनिहरुले हिंसा र अन्याय सहेर बस्न नपर्ने भन्दै यदी अन्याय महसुस गरे उजुरी गर्न अनुरोध समेत गर्नुभयो ।

यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले नगरपालिकाले संचालन गर्ने योजना र कार्यक्रम संचालन गर्दा कुनै विभेद नभएको भन्दै अन्य निर्माण व्यवसायीले ज्यालामा असमानता गरेको पाईए कारबाही गरिने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं.१ का वडा अध्यक्ष कपिल बहादुर खाँणले लैंगिक हिंसा , असमानता र महिला हक अधिकारका लागि नेपालमा निति नियम र कानुनको अभाव नभएको तर प्रभावकारी कार्यान्वयनको अभाव रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाको भवन प्राङ्गणमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा, अखिल नेपाल महिला संघ नगर अध्यक्ष दुर्गादेवि राना, अखिल क्रान्तिकारी महिला संघ नगर अध्यक्ष गिता विक, कालिगण्डकी फाउन्डेसन नेपालका उपाध्यक्ष पवित्रा पौडेल ढकाल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, दियालो सामाजिक महिला उद्यमि कृषि सहकारी संस्थाका अध्यक्ष ईश्वरीदेवि खनाल, महिला निर्माण व्यवसायी सुमन खाम्चा, र ईस्लामपुर आमा समुहका समिना खातुन लगायतले बोल्दै शुभकाना दिनु भएको थियो ।

“लैंगिक समानताको बलियो आधार , सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नाराका साथ १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको सम्मान कार्यक्रम रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाको अध्यक्षता र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा महिला नेतृ विष्णुमाया ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिका कार्यपालिका सदस्य दुर्गादेवि भण्डारी गौतमको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन रामपुर नगरपालिकाका कर्मचारी पार्वती परियारले गर्नु भएको थियो । महिलाहरुलाई खादा , दोसल्ला , पाल्पाली करुवा र सम्मान पत्र सहित सम्मान गरिएको कार्यक्रमका अवसरमा म्यूजिकल चियर दौड प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रममा नगर भित्रका दशै वटा वडाका महिला दिदि बहिनिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?