गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानमा आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नु भएको थियो । पौडेलले प्रधानन्यायाधीशबाट फागुन २८ गते राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गर्नुहुनेछ । शपथग्रहण पश्चात मात्र उहाँले कार्यभार सम्हाल्न पाउनुहुनेछ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई विभिन्न दलका नेताहरुले बधाई दिएका छन्।

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मिनु भएका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बन्नु भएको हो । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुग्नु भएको हो ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो । मतदानमा राप्रपाका १४ जना सांसद् सहित त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका लागि चीन र भारतमा रहनु भएको छ । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् ।

प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?