निस्दीमा बृहत निःशुल्क प्रजनन् स्वास्थ्य तथा आँखा शिविर बाट पन्ध्र सयले लिए सेवा

पाल्पा, निस्दी गाउँपालिकामा सञ्चालन गरिएको बृहत निःशुल्क प्रजनन् स्वास्थ्य, परिवार नियोजन तथा आँखा शिविर बाट एक हजार ५ सय १८ जनाले सेवा लिएका छन् । गत फागुन २३ देखि ३० सम्म पालिकाको ७ वटै वडामा सञ्चालन भएको शिविर बाट प्रजनन् स्वस्थ्य समस्या भएका महिला, आँखाको समस्या रहेका नागरिक र सन्तानका रहर पुगेका तथा जन्मान्तर वृद्धि गर्न चाहाने दम्पतीहरुले सेवा लिएका हुन् ।

दृष्टिमा समस्या भएका तथा प्रजनन् स्वास्थ्य समस्या भएका नागरिकहरुको उपचार संगै सचेतना जगाउन बाकामलाङ स्वास्थ्य चौकी बाट शिविर शुभारम्भ गरिएको थियो । निस्दी गाउँपालिकाको आयोजना, नेपाल परिवार नियोजन संघ, पाल्पा शाखा, पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविर मंगलबार मित्याल स्वास्थ्य चौकीमा अप्रेसन सहितको आँखा शिविर सञ्चालन गरी समापन गरिएको हो । 

शिविरमा ९ सय ६७ जना महिला र ५ सय ५१ जना पुरुषले लाभ लिएको निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा १ हजार ३ सय ३३ जनाले आँखा जाँच गराएका थिए । उनीहरु मध्ये १ सय ५ जनामा मोतियाविन्दु र २ जनामा जलविन्दुको समस्या देखिएको थियो । मोतिया विन्दुको समस्या देखिएका मध्ये ५६ जनाको शल्यक्रिया गरिएको छ । जस मध्ये गौरी शंकर मावि मित्यालमा र १८ जनाको कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरमा अप्रेशन गरिएको कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरका प्रमुख सुन्दर रानाले बताउनुभयो । साथै शिविरमा २ सय ३२ जना जेष्ठ नागरिक तथा विद्यार्थीलाई चस्मा वितरण गरिएको थियो ।

     परिवार नियोजन सेवा तर्फ १४ जना पुरुषले स्थायी बान्ध्यकरण (भ्यासेक्टोमी) सेवा लिएका छन् । महिलाहरुको (अस्थायी साधन ५ वर्ष अवधिको) ईम्प्लान्ट ९३ जनाले राखेका छन् भने २८ जनाले झिकेका छन् । १२ वर्ष अवधिको आईयुसीडी २१ ज्नाले राखेका छन् भने ४ जनाले झिकेका छन् । प्रजनन् स्वस्थ्य तर्फ महिलाहरुको पाठेघरको क्यान्सर सम्भावना परिक्षण (भीआईए टेष्ट) ४ सय ५२ जनाको गरिएकोमा ३२ जनामा पोजेटिभ देखिएको थियो । २७ जनामा महिला आँङ खस्ने समस्या देखिएकोमा २५ जनामा रिङ पेसरी राखिएको छ । परिक्षणको क्रममा १८ जनाको पाठेघरको मुखमा मासु पलाएको र १ जनामा फिस्टुलाको समस्या पाईएको थियो । १ सय ६१ जनाको यौन रोग संक्रमणको उपचार गरिएको छ । शिविरमा अन्य १ सय ४५ जनाले सामान्य परिक्षण, १ सय ५ जनाले प्रयोगशाला सेवा लिएको स्वास्थ्य संयोजक दिशाले जानकारी दिनुभयो । शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियो ।

शिविर फागुन २३ गते निस्दी १ को बाकामलाङ स्वास्थ्य चौकी, २४ गते निस्दी २ को सहलकोट स्वास्थ्य चौकी, २५ गते निस्दी ३ को झिरुबास स्वास्थ्य चौकी, २६ गते निस्दी ६ को अर्चले स्वास्थ्य चौकी, २७ गते निस्दी ५ को गल्धा स्वास्थ्य चौकी, २८ गते निस्दी ७ को ज्यामिरे स्वास्थ्य चौकी, २९ र ३० गते निस्दी ४ मित्याल स्थित गौरीशंकर माविमा सञ्चालन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?