मदरसा नुरुल होदा अहले सुन्नत प्राविमा दुई कोठे भवन उट्घाटन


पाल्पा, मदरसा नुरुल होदा अहले सुन्नत प्राथमिक विद्यालय रामपुर नगरपालिका ४ इस्लामपुरमा दुई कोठे भवन उट्घाटन भएको छ । भवनको अभावका विच कक्षा ५ सम्म सञ्चालन हुँदै आएको विद्यालयमा २०७७ मा भवन निर्माण भएको हो ।

जिल्ला शिक्षा समन्वय इकाईको अनुदानमा निर्माण भएको भवनको शनिबार एक समारोहका विच उट्घाटन गरिएको हो । भवनको उट्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले समाज रुपान्तरण संगै विकासको लागि चेतनाको आवश्यक रहेको भन्दै त्यसका लागि शिक्षा अपरिहार्य रहेको बताउनुभयो । थापाले संस्कार संगै चेतनाको लागि धार्मिक विद्यालयले खेलेको भुमिकाको चर्चा गर्नुभयो । साथै नगरपालिकाले विद्यालयका लागि आवश्यक पूर्वाधार निर्माणमा आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले विद्यालयलाई कस्तो बनाउने भन्ने कुरा समाजमा निर्भर रहने उल्लेख गर्दै विद्यालयको गुणस्तर कायम राख्नका लागि केन्द्रित हुन आग्रह गर्नुभयो । साथै उहाँले सबैको साथ र सहयोग बाट मात्र संस्कार सहितको उत्कृष्ट विद्यालय निर्माण सम्भव हुने बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले शिक्षाको लागि भौतिक पूर्वाधार एक महत्वपूर्ण पक्ष रहेको र अब प्रविधि मैत्री व्यहारिक शिक्षामा ध्यान दिने समय आएको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले सामाजिक सद्भाव कायम संगै चेतना अभिवृद्धिमा विद्यालयले खेलेको भुमिकाको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्ले, विद्यालयका पूर्व अध्यक्ष हमिद मियाँ, ईस्लामिक सक्रिय युवा समाजका अध्यक्षसहादत हुसेन, रामतुलसी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पूर्णचन्द्र घिमिरे, विद्यार्थी फातुमा खातुन, साहिद शेख र आदित अलीले आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हाजी हजिलदिन मियाँले विगतमा चन्दाको भरमा सञ्चालन भएको विद्यालयले निम्न वर्गका विद्यार्थीहरुलाई आवासिय सुविधा सहितको व्यवस्था गर्दै आएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक नगेन्द्र प्रसाद काफ्लेले जिल्ला शिक्षा समन्वय इकाई बाट प्राप्त १६ लाख अनुदान र १ लाख ५७ हजार ३ सय २६ जनश्रमदान गरी २०७७ मा १७ लाख ५७ हजार ५ सय ८६ को लागतमा भवन निर्माण भएको जानकारी दिनुभयो । नेपाली, अंग्रेजी, अरविक र उर्दु भाषामा अध्यापन हुने विद्यालयमा हाल ६० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महम्मद अजिम शेखको अध्यक्षतामा भएको कार्यक्रम, संस्थापक अध्यक्ष हजिलदिन मियाँको स्वागत र शिक्षकम निर्मला अर्यालको सञ्चालनमा भएको हो । कार्यक्रमको अवसरमा विद्यालयले जग्गा दाता सहित रामपुर नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा नं. १ का वडा अध्यक्ष, वडा नं. ४ का वडा अध्यक्ष तथा जनप्रतिनिधि र नगर शिक्षा अधिकृतलाई सम्मान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?