देशैभर स्ववियु निर्वाचन जारी, पाल्पाको शहीद बहुमुखी क्याम्पस रामपुरमा मात्र मतदान हुँदै (फोटो फिचर)

पाल्पा, त्रिभुवन विश्वविद्यालय सहित देशभरका आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । आइतबार बिहान ८ बजेदेखि स्ववियु पदाधिकारी चयनका लागि मतदान चलिरहेको छ ।

तोकिएको स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसका विद्यार्थीहरू लामबद्ध भएर मतदानमा सहभागी भएका छन् । मतदान अपरान्ह ४ बजेसम्म जारी रहनेछ । पाल्पाका चार क्याम्पस मध्ये शहीद बहुमुखी क्याम्पस रामपुरमा मात्र मतदान जारी छ । त्रिभुवन बहुमुखी क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अघि बढेको छैन । उद्बुद्ध क्याम्पस पूर्वखोलामा अनेरास्ववियु बाट निर्विरोध निर्वाचित भएको छ भने माण्डव्य बहुमुखीमा सर्वसम्मत रुपमा स्ववियु गठन भएको छ ।

शहीद बहुमुखी क्याम्पसमा प्रत्यक्ष तर्फ नेपाल विद्यार्थी संघ र अनेरास्ववियु(क्रान्तिकारी) को संयुक्त गठबन्धन र अनेरास्ववियुका उम्मेद्वारहरु विच प्रतिस्पर्धा हुँदैछ । सभापतिमा नेवि संघ बाट ल्याकत अलि र अनेरास्ववियु बाट सन्देश ढकाल प्रतिस्पर्धामा रहेका छन् । शहीद बहुमुखी क्याम्पसमा ७ सय ८२ जना मतदाता रहेको निर्वाचन अधिकृत सुर्य प्रसाद घिमिरेले जानकारी दिनुभयो । मतदान विहान ८ बजे बाट सुरु भएको थियो । क्याम्पस परिसरमा मतदानका लागि विद्यार्थीहरु लामबद्ध रहेका छन् । भने विद्यार्थी संगै राजनैतिक दलका विभिन्न तहमा रहेका व्यक्तिहरु उम्मेद्वारहरुको होसलाका लागि पुगेका छन् । शहीद क्याम्पस भित्र र बाहिर सुरक्षा प्रबन्ध मिलाईएको छ ।

स्ववियुमा दुई सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५ र तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ । अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने व्यवस्था छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?