पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाल विद्यार्थी संघ (नेवि संघ)का ल्याकत अलि विजयी हुनु भएको छ । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवार सन्देश ढकाललाई ३२ मतले पछि पार्दै अलि विजयी हुनु भएको हो ।
स्ववियु नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचन बाट सभापति सहितक प्रत्यक्ष तर्फको बाँकी पदमा नेवि संघ र अनेरास्ववियु(क्रान्तिकारी) को संयुक्त प्यानल नै विजयी भएको छ । मतपरिणाम अनुसार कुल सदर मत मध्ये अलिले ३ सय २४ र प्रतिस्पर्धि ढकालले २ सय ९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुर्य प्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यस्तै सचिवमा नेवि संघका रमेश पोखरेलले ३ सय ४६ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । अनेरास्ववियुका रमा श्रेष्ठले २ सय ६५ मत ल्याउनु भएको थियो । कोषाध्यक्षमा तिलक सारु ३ सय ३१ मत सहित विजयी हुनु भएको छ । प्रतिस्पर्धि दुर्गा वि.क. ले २ सय ७७ मत प्राप्त गर्नु भएको थियो ।
सदस्यहरुमा नेवि संघ बाट कसम मल्ल ठकुरी ३ सय ५९ मत, कविता राना ३ सय ३७ मत, जयन्ती दर्जी ३ सय १२ मत, अस्मिता खनाल ३ सय २४ मत र महेश राक्से ३ सय २० मत सहित निर्वाचित भएका छन् । सदस्यमा अनेरास्ववियुका उम्मेदवारहरु अनिता श्रेष्ठले २ सय ४५, जानकी बयम्बुले २ सय ६०, समर बहादुर खन्गाहाले २ सय ८९, राजन गौतमले २ सय ८२ र सम्बोधन खनालले २ सय ६२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।
निर्वाचनमा कुल मतदाता ७ सय ८२ मध्ये ६ सय ५२ मत खसेको थियो । शहीद बहुमुखी क्याम्पसमा प्रत्यक्षमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु(क्रान्तिकारी) को संयुक्त प्यानल र अनेरास्ववियु विच प्रतिस्पर्धा भएको थियो । समानुपातिक तर्फ नेवि संघ, अनेरास्ववियु, अनेरास्ववियु(क्रान्तिकारीले संगठन दर्ता गराएको थियो । समानुपातिक तर्फ नेपाल बिद्यार्थी संघले ३ सय २१,अनेरास्ववियुले २ सय ७६ र अनेरास्ववियु (क्रान्तिकारी ) ले ५१ मत प्राप्त गरेको छ । जसमा ४ मत बदर भएको थियो ।
प्रत्यक्ष बाट स्ववियुको ५० प्रतिशत पदाधिकारी चयन भएको छ । उपसभापति, सहसचिव सहित ५० प्रतिशत पदाधिकारी समानुपातिक मतको आधारमा चयन हुनेछ ।