रामपुर नगरपालिकामा न्यायीक समितिद्वारा मेलमिलाप केन्द्रकाे अनुगमन

पाल्पा , रामपुर नगरपालिका अन्तर्गत न्यायीक समितिले नगर भित्रका वडामा रहेका मेलमिलाप केन्द्रको अनुगमन गरेको छ । समितिले सोमबार रामपुर नगरपालिका वडा नं. ८ मा मेलमिलाप केन्द्रको अनुगमन गरेको छ ।

मेलमिलाप केन्द्रको अनुगमन गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक बालकुमारी थापाले वडा भित्र भएका विवाद समाधानका लागि क्षेत्राधिकार भित्र रहेर छलफल गरि सेवा प्रदान गर्नु पर्ने बताउनुभयो । उहाँले मेलमिलापकर्ताले वडामा निरुपण गर्न पाउने ११ वटा क्षेत्रमा रहेर कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । ३ पटक सम्म मेलमिलाप कर्ताले छलफल गरि सहमति गराउन पाउने अधिकार रहेको उल्लेख गर्दै त्यस पश्चात सहमति नभए नगर स्तरिय न्यायीक समितिमा पठाउन आग्रह गर्नु भएको छ । यस्तै वडा स्तरमै न्यायको अनुभुति प्रदान गर्नका लागि तत्काल मेलमिलाप केन्द्र स्थापना गरि काम गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश आचार्यले वडामा विवादका उजुरी धेरै आए पनि जनप्रतिनिधि र मेलमिलापकर्ता विचको समन्वयको अभावले कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । विवाद र उजुरीमा समेत जनप्रतिनिधि खटिनु पर्दा समस्या भएको भन्दै यसको समाधानका लागि मेलमिलापकर्तालाई सक्रिय बनाई समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा नं. ८ का मेलमिलापकर्ता धर्म बहादुर आचार्यले ३ जना मेलमिलापकर्ता हुँदा सामुहिक छलफलबाट मेलमिलाप गरिएको भन्दै अहिले आफु एक्लै हुँदा छलफलमा समस्या भएको बताउनुभयो । साथै वडालाई मेलमिलापकर्ताको आवश्यकता भए कार्य सम्पादनका लागि व्यवस्थित पार्न अनुरोध गर्नुभयो । वडा भित्रका विवाद छलफलको माध्यमबाट न्यायाेचित ढंगले मेलमिलाप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका अवसरमा मेलमिलाप केन्द्रका लागि आवश्यक सहयोग सामग्री हस्तान्तरण गरिएको थियो । रामपुर नगरपालिकाका नगर उपप्रमुख तथा न्यायीक समितिका संयोजक बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन न्यायीक समितिका सदस्य सचिव पार्वती परियारले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?