५८ औं अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस रामपुरमा पनि मनाईयो

पाल्पा, ५८ औं अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस पाल्पाको रामपुरमा पनि मनाईएको छ । ‘सामाजिक न्यायका लागि विभेद मुक्त समाज निर्माण गरौं’ भन्ने नाराका साथ दलित अधिकारका लागि साझा अभियान पाल्पाको आयोजना, दलित वर्ग उत्थान समन्वय समिति रामपुरको सहआयोजना, रामपुर नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।

रेशम सभाहल रामपुर ५ मटेरीमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले संविधानमा दलित समुदायको उत्थानका लागि स्पष्ट भनिए पनि अझै कार्यान्वयन हुन नसक्दा समस्या समाधान हुन नसकेको बताउनुभयो । छुवाछुत संगै धनी र गरिब विचको वर्गिय विभेद समाजमा कायमै रहेको बताउँदै उत्थानका लागि एकताको खाँचो रहेको औल्याउनुभयो । उत्पिडित समुदायलाई दलित शब्दले झनै पिडा दिएको भन्दै यसको विकल्प सोच्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनारले मुलुकको परिवर्तनमा दलित समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गराउनुभयो । समाज परिवर्तन भए पनि उत्पिडित समुदायको पिडा जस्ताको त्यस्तै रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य एवं दलित अधिकारका लागि साझा अभियान पाल्पाका पूर्व अध्यक्ष मिलन विश्वकर्माले पितृसतात्मक सोच कायम नै रहेको बताउँदै विभेदको अन्त्य नहुँदा सम्म परिवर्तन नहुने उल्लेख गर्नुभयो । रामपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले समुदायको उत्थानका लागि शिक्षामा ध्यान दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकोटा, रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णुदेवि घिमिरे आचार्य, दलित वर्ग उत्थान समन्वय समिति रामपुरका पुर्व अध्यक्ष अर्जुन सुनार, दर्शन ठकुरी समाज महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष क्याप्टेन हिमाल मल्ल, एकीकृत मगर उत्थान समाज संघ रामपुरका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गी, मुस्लिम संघ पाल्पाका जिल्ला उपाध्यक्ष मोहम्मद अजिम शेख, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य माया नेपाली, रामपुर ७ का वडा सदस्य मिठ्ठु माया सुनार, टीका सुनार, गोविन्द भट्टराई लगायतले दलित विभेद अन्त्यका सन्दर्भमा आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रममा दलित अधिकारका लागि साझा अभियान पाल्पाका पूर्व अध्यक्ष तिर्थ गौतमले दलित समुदायको इतिहास र वर्तमान अवस्था संगै समाजमा रहेको विभेद्का बारेमा प्रकाश पार्नु भएको थियो । यसै अवसरमा रामपुर २ का वडाध्यक्ष कृष्णबहादुर दर्जी र कार्यपालिका सदस्य माया नेपालीलाई सम्मान गरिएको थियो ।दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष विष्णु बोमरेलको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष दिनेश गन्द्धर्वको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जु परियारले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?