दूध, अण्डा र मासुको महत्व बारे जानकारी दिन रामपुरमा सचेतना कार्यक्रम सम्पन्न

पाल्पा, दूध, अण्डा र मासु प्रयोगको महत्व बारे जानकारी दिन रामपुरमा बुधबार सचेतना कार्यक्रम सम्पन्न भएको छ । ‘दूध, अण्डा र मासु खाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तानसेन पाल्पाको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

रामपुरका मासु व्यावसायी, दुग्ध व्यावसायि, पशुपलक कृषकहरुको सहभागीता रहेको कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका निमित्त प्रमुख दुर्गाप्रसाद खनाल अध्यक्षतामा भएको थियो । उहाँले हाम्रो शरीरको लागि आवश्यक तत्वहरु दुध, अण्डा र मासु बाट पूर्ण मात्रामा पाउन सकिने बताउनुभयो । उहाँले दुध तथा मासुजन्य पदार्थको सेवन बाट शरीरलाई निरोगी र ऊर्जावान बनाउन ठूलो सहयोग गर्ने तथा पशुपालक कृषकहरुको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालले रामपुर क्षेत्रमा व्यावसायिक पशुपालनमा कृषकको आकर्षण बढ्दै गएको र बजारीकरणका लागि उपभोक्तालाई सचेतना जगाउनु आवश्यक रहेको बताउनुभयो । नेपाल बाख्रापालक किसान महासंघका केन्द्रिय उपाध्यक्ष सुर्यप्रसाद रेग्मीले पाल्पा पशुपालनको लागि राम्रो सम्भावना बोकेको जिल्ला भएको बताउनुहुँदै अब परिमाण भन्दा पनि उत्पादनमो गुणस्तर ध्यान दिने समय आएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तानसेन पाल्पाका पशु चिकित्सक डाक्टर नवीन बस्यालले दुध, अण्डा र मासुको प्रयोग बाट हुने फाईदाको बारेमा जानकारी दिदै खाद्य सुरक्षा र यसको महत्वका बारेमा अभिमुखिकरण प्रदान गर्नु भएको थियो । उहाँले प्रतिव्यक्ति पशुजन्य पदार्थ मध्ये वार्षिक रुपमा दुध ९१ लिटर, मासु १४ केजी, माछा ५ केजी र अण्डा ४८ गोटा आवश्यकता रहे पनि पाल्पा दुध, मासु र अण्डामा आत्मनिर्भर रहे पनि माछा उत्पादन न्यून रहेको जानकारी दिनुभयो । जिल्लामा प्रतिव्यक्ति दुध १ सय ९८ लिटर, मासु २४ दशमलव ३५ केजी, माछा ३२ ग्राम र अण्डा ६६ गोटा आपूर्ति रहेको तथ्याङ्क पेश गर्नु भएको थियो । बेझाँड नहर अफिसमा भएको कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका पशुसेवा प्राबिधिक युवराज ज्ञवालीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका पशुसेवा शाखाका प्रमुख तुल्सिराम काफ्लेले गर्नुभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?